×

वीरगञ्ज ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालकै भएको र 'नक्कली अयोध्या' खडा गरी भारतले सांस्कृतिक तथ्य तोडमोड गरेको अभिव्यक्ति दिएपछि त्यसको विरोध भइरहेको छ । प्रधानमन्त्रीले अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा रहेको र राम त्यही जन्मिएको भनेपछि ठोरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्यले प्रतिक्रिया दिएका छन् ।

ठोरीबाट प्रतिनिधित्व गर्ने संसद् लक्ष्मणलाल कर्णले ठोरीमा लक्ष्मण भएको तर राम नभएको प्रतिक्रिया दिएका हुन् । उनले भने 'ठोरीमा लक्ष्मण छन् राम छैनन् ।' प्रतिनिधिसभामा पर्साको क्षेत्र नम्बर ४ बाट उनले प्रतिनिधित्व गर्छन् । उनी संसदीय सुनुवाइ समितिको सभापति पनि हुन् ।

सरकारी निवास बालुवाटरामा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको र राम पनि नेपालकै भनेपछि त्यसको व्यापक विरोध भइरहेको छ । विषेशगरी ट्विटर प्रयोगकर्ताहरूले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् । सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक र वार्ताबाट गर्नुपर्नेमा प्रधानमन्त्रीले विवादित वक्तव्य दिएर द्वन्द्व बढाउन काम गरेको जानकारहरूले बताए ।

भानुजयान्तीको अवसरमा बेलेका प्रधानमन्त्रीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको बताएका थिए । भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादीत अयोध्या खडा गरेको उनको भनाइ थियो ।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो' उनले भनेका थिए, 'अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन् ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीका धेरै अभिव्यक्ति विवादित हुने गरेका छन् । यसअघि प्रधानमन्त्रीले भारतसँग आफ्नै पार्टीका नेताहरू मिलेर आफूलाई हटाइन लागेको अभिव्यक्ति दिएका थिए ।

त्यसपछि शीर्ष नेताहरूले सामूहिक रूपमा उनको राजीनामा माग गरेका थिए । त्यस्तै, केही समयअघि मन्त्रीहरूलाई बालुवाटार बोलाएर आफुलाई पदबाट हटाइर राष्ट्रपतिलाई महाअभियोग लगाउने चलखेल भइरहेको पनि बताएका थिए ।

Back to top