×

वीरगञ्ज - सडक निर्माणको काममा खटिदा गम्भीर घाइते भएका पर्साको वीरगञ्ज-१२ मुर्लीका २३ वर्षीय दाउद अन्सारीको उपचारका लागि लेजेण्ड अफ छपकैयाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मकवानपुरको ठिंगनमा सडक निर्माणमा लेबरमा खटिएका अन्सारीको गएको ११ गते रोलरले च्यापिदा हातमा गम्भीर चोट लागेको थियो । अमर कन्सट्रक्सनले काममा खटाएको भए पनि उपचारमा कुनै सहयोग नगरेपछि उपचार रोकिएको थियो ।

अन्सारीलाई काठमाडौँको ट्रमा सेन्टरमा राखिएको भए पनि पैसा नहुँदा उपचार हुन सकेको छैन । परिवारका कोही पनि नरहेको र एक्लै हुँदा सहयोग पनि कतैबाट नमिलेकाले उपचार हुन नसकेको घइते बताउँछन् ।

अन्सारीको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएपछि आफुहरुले आर्थिक सङ्कलन गरेर उपचारका लागि उनको नातेदार जाफुरु अन्सारीलाई ११ हजार रुपैयाँ हस्तान्तरण गरेको लेजेण्ड अफ छपकैयाँका अध्यक्ष एमडि साहबुद्दिन अन्सारीले बताउनु भयो ।

आर्थिक अवस्था नाजुक भएका घाइते अन्सारीको सहयोगका लागि उनका नातेदार जाफरु अन्सारी वा घाइतेको मोबाइल नम्बर ९८१४२३२७२५ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने छ ।

उपचारका लागि ५०/६० हजार भन्दा बढी लाग्ने भएकाले सहयोग गर्न उनका नातेदार जाफरु अन्सारीले आग्रह गर्नु भएको छ ।

Back to top