×

वीरगञ्ज २४ असार । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं. ५ भिस्वामा सडक मै धान रोपेर स्थानीयहरुले सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सडक मर्मत नहुँदा आवात जावतमा समेत समस्या भएको बताउँदै विरोध स्वरूप स्थानीयहरुले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका हुन् ।

वर्षायाम आउँन बितिकै हिलो लाग्ने समस्याको समाधान स्थानीय सरकार आएपनि हुननसकेको गाउँवासीको गुनासो रहेको छ । स्थानीय सरकारमा निर्वाचित भएर पुगेका गाउँपालिका अध्यक्ष, वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुलाई झकझकाउँन आफुहरुले सडकमै धान रोपाई गरेको गाउँवासीले बताए ।

वीरगञ्ज र भिस्वासँग जोड्ने मुख्य सडक मनसुन सुरुभएसँगै हिलाम्य भएपनि निर्वाचित जनप्रतिनिधिहरुको ध्यान पुग्न नसकेको स्थानीयहरु बताउँछन् । त्रुटीपूर्ण ढंगले नाला निर्माण गरिएको कारण वर्षातको पानि निकास नभएर उल्टै सडकमा जमेर हिलो लाग्ने समस्या आएको स्थानीयहरुले बताए ।

सडक भन्दा ३ फिट माथि नाला निर्माण गरिएको कारण वर्षातको पानिलाई निकास हुने ठाउँनै छैन, नालामा पानि बढेपछी सडकमा जम्ने र टोलवासीको घरमा समेत पस्ने समस्या बढेको छ ।

सडक हिलाम्य हुँदा वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय बाध्य भएका छन् । सडकमा दुई पाङ्ग्रे सवारी चलाउँन सम्भव नभएको स्थानीय हरिन्द्र प्रसाद कुश्वाहले बताए । उनले गाउँपालिकामा काम गर्ने कर्मचारी समेतले वैकल्पिक बाटो प्रयोग गर्नेगरेको भने ।

Back to top