वीरगञ्ज २३ असार । सडकको विषयमा भएको विवादपछि झडप हुँदा पर्साको पोखरियामा ३ जना घाइते भएका छन् ।
पोखरिया नगरपालिका(७ रानीगञ्जमा मंगलबार बिहान भएको झडपमा उपभोक्ता समितिका अध्यक्ष रामायण राम, भन्टु राम र स्थानीय सञ्जुकुमारी राम घाइते भएका हुन् । सडक कतै ८ फिट र कतै १० फिट फराकिलो बनाइएको भन्दै स्थानीय सन्दीप राम र लालदेव रामले विरोध गर्दै आएका थिए ।
मंगलबार विहान सञ्जुकुमारी रामको परिवारले घर अगाडिको माटो हटाउन लाग्दा उपभोक्ता समितिका अध्यक्षले रोकेपछि दुई पक्षबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । सञ्जु कुमारीको नाक, मुख, ओठ र टाउकोमा चोट लागेको छ ।
उनीसँगै अध्यक्ष रामायण र भन्टुको पोखरिया अस्पतालमा उपचार भइरहेको छ । बाटो निर्माणको विषयमा उपभोक्ता समिति र स्थानीय वासिन्दाबीच सामान्य झडप भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।
घटनामा संलग्नको आशंकामा प्रहरीले स्थानीय सन्दीप राम र लालदेव रामलाई नियन्त्रणमा लिएको छ ।