×

वीरगञ्ज २२ असार । पर्साको बिन्दबासिनी गाउँपालिकामा लावारिस अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नं. ५ को पर्सौनीभाठा स्थित गाढी खोला किनारमा लावारिस अवस्थामा पुरुषको शव फेला परेको हो ।

सोहि गाउँपालिकाका वडा नं. ३ इटियाही निवासी ४० वर्षीय उमेश शहनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शहनी विगत १५-२० दिनदेखि बिन्दवासिनी गाउँपालिकाको वडा नं. १ गर्दौलमा पर्ने आफ्नो ससुराली बस्दै आएका थिए ।

गत शनिबार उनि ससुरालीबाट आफ्नो घरका लागि निस्केको ससुराली पक्षका व्यक्तिहरुले प्रहरीलाई जानकारी दिएका छन । शहनीको सम्पूर्ण परिवार भारतको मुम्बईमा बस्दै आएको छ ।

शव खोलमा भेटेको कारण अन्तैबाट बगेर आएको हुनसक्ने प्रहरीले आशङ्का जनाएको छ । 'शव फुलेको थियो, मृत्यु एक दिन पहिला नै भएको आशङ्का छ, 'जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायाब उपरीक्षक मनोजित कुँवरले भने, 'अहिले पोस्टमार्टमका लागि शव हामीले नारायणी अस्पतालमा पुर्याएका छौँ, मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र खुल्छ ।'

शोमबार बिहान खोलामा पानिको वहाव कम भएपछी शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Back to top