बीरगन्ज, २९ जेठ । पर्सामा लकडाउनको अवधिमा लकडाउनको अवज्ञा गर्ने १२ सय भन्दा बढी सवारीसाधन कारवाही परेका छन् । सवारीसाधनमाथि भएको कारवाहीबाट करिब ७ लाख रुपैया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लकडाउनको हालसम्मको अवधिमा साना तथा ठूला गरी १२ सय भन्दा बढी सवारीसाधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरिक्षक कमलराज पण्डितले बताउनुभयो ।
बन्दाबन्दीको अवधिमा लकडाउनकै उल्लघंन गर्ने सवारीसाधनहरु बढी कारवाहीमा परेका छन् । लकडाउनको अवधिमा बिना पास सवारी चलाउँनेहरु अधिकांश कारवाहीमा परेका छन् ।
पछिल्लो पटक महानगरपालिकाले तोकेको क्षेत्र बाहेकका ठाउँहरुमा पार्किङ्ग नगर्ने निर्णय गरेपछि बजारमा जथाभावी पार्किङ्ग गरिएका सवारी साधनलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बीरगन्ज महानगरपालिकाले अहिले बन्दाबन्दीको बेला सवारी साधनको चाप कम रहेको अवस्थामा ४ ठाउँमा पार्किङ्ग स्थान तोकेको छ । महानगरपालिकाले मालपोत कार्यालय अगाडिको खाली जग्गा, आदर्शनगरमा रहेको पुरानो बसपार्क, भानुचौकमा रहेको नयाँ बसपार्क तथा घण्टाघरको दक्षिणपट्टि रहेको लालबंगला क्षेत्रलाई पार्किङ्ग स्थान तोकेको छ ।
बीरगन्जका आम सर्वसाधारणले पार्किङ्ग स्थान तोकेको विषयमा आफुहरुलाई जानकारी नै रहेको तथा अनाहकमा बन्दाबन्दी बेलामा फाइन तिर्नु परेको बताएका छन् ।
तर जिल्ला प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरिक्षक पण्डितले यसबारै लगातार दुई दिनसम्म महानगरमा माइकिङ्ग गरेको दाबी गर्नुभयो । यस्तो बेलामा पनि जथाभावी रुपमा बीरगन्ज नगरमा पार्किङ्ग हुने गरेको उहाँले बताउनुभयो ।