वीरगञ्ज २९ जेठ । विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि विगत ७९ दिनदेखी देश लकडाउन गरिएको छ ।
लकडाउनका कारण प्रभावित भएकाहरुलाई खानाको व्यवस्था गर्नका लागि वीरगञ्ज पब्लिक कलेजको पुरानो भवनमा निशुल्क भोजन शिविर सञ्चालन गरिएको छ । कलेजका संस्थापक निर्देशक प्राध्यापक डा. दिपक शाक्य र समाजसेवी प्रदिप ठाकुरको सक्रियतामा बिहान बेलुका लगभग १ सय देखी २ सय जनाको लागि निशुल्क भोजन शिविर सञ्चालन गरिएको हो ।
उक्त शिविरलाई नियमित ढंगले सञ्चालन गर्न कठिनाई नहोस् भन्ने अभिप्रायले स्टोरीज अफ नेपाल व्लगका लेखक जय पौड्याल र जापान बस्ने वीरगञ्जबासि अजय बलको आर्थिक सहयोगमा राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएको छ । पौड्याल र बलले उपलब्ध गराएको खाद्यान्न सामाग्री मनोरमा सर्राफ र पत्रकार राम सर्राफले पशुपति आश्रम प्रदेश न. २ का संयोजक प्राध्यापक डा. शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
राहतस्वरुप १ हप्ता पुग्ने गरी चामल, दाल, तेल लगायतका खाद्य सामाग्री उपलब्ध गराउनुभएको हो । राहत सामाग्रीका लागि आर्थिक सहयोग गर्ने दुवैजना देश बाहिर रहेर पनि विपद्को समयमा आफ्नो देशका नागरीकहरुको समस्या समाधान गर्नुका साथै अलपत्र परेकाहरुलाई भोजनको व्यवस्था गर्न पाउँदा खुशि व्यक्त गरेका छन् ।
त्यसैगरी प्राध्यापक डा. दिपक शाक्यले पनि विभिन्न दाताहरुको सहयोगबाट नै निशुल्क भोजनको व्यवस्था गरिएको बताउँदा अप्रत्यक्ष तथा प्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सकेको सहयोग गर्न अपिल गर्नुभएको छ ।