×

वीरगन्ज २८ जेठ । पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा पर्ने जमुनिया खोलाबाट अवैधरूपमा गिट्टी, बालुवाको उत्खननमा कार्यपालिकाका सदस्यको संलग्नता देखिएको छ।

यस वर्ष नदीजन्य पदार्थ उत्खननको ठेक्का लाग्न नसकेको कारण सो खोलाबाट गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन रोक्का छ। तर कार्यपालिका सदस्य दीपक रसाइलीकै ट्याक्टर बारम्बार अवैध उत्खनन ओसारपोसारमा संलग्न रहेको पाइएको छ।

पटेर्वासुगौली गाउँपालिकाको राजस्व शाखामा रसाइलीको ट्याक्टर पाँचपटकभन्दा बढी दण्डित भइसकेको छ। गापाले अवैध उत्खननमा संलग्न रहेको ट्याक्टरसँग पहिलोपटकका लागि रु ५ हजार र पटकेमा संलग्नहरूलाई १० देखि १५ हजार जरिवाना लिंदै आइरहेको छ।

यसबारेमा कार्यपालिका सदस्य रसाइलीले गाउँको उपभोक्ता समितिको माग अनुसार जमुनिया खोलाको बालुवा उत्खनन भएको बताएका छन्। उनले जमुनिया खोलाको बालुवा निर्माण कार्यका लागि मात्र आफ्नो ट्याक्टरबाट ढुवानी भएको बताए।

यसैबीच, इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले अवैध उत्खननविरुद्ध प्रहरी कारबाई भइरहेको बताए। उनले चार महीनाको अवधिमा पचासभन्दा बढी ट्याक्टर नियन्त्रणमा लिएर कारबाईको लागि गापामा बुझाएको बताए। साभार prateekdaily.com बाट

Back to top