वीरगञ्ज २६ जेठ । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–१ मा रहेका अतिविपन्न, गरीब र दलित परिवारका लागि प्रदेश सरकारले पठाएको राहत सामग्री दुई सातादेखि प्रहरी चौकीमा थन्किएको छ ।
जीराभवानी गापा–१ मा बसोबास गर्ने ५६ परिवारको लागि पुग्ने राहत प्रहरी चौकी महादेवपट्टिमा राखिएको छ । चौकी परिसरमा रहेको शिव मन्दिरमा सो सामग्री त्रिपालले छोपेर राखिएको छ। प्रसनि सुरेन्द्र पाण्डेले त्रिपालले छोपेर राहत सामग्री सुरक्षित राखिएको बताए ।
प्रदेश सरकारले पहिलो चरणमा ९० परिवारका लागि जीराभवानी गाउँपालिकामा राहत पठाएको थियो। राहत वितरण गर्नेक्रममा विवाद भएपछि ५६ परिवारलाई पुग्ने राहत वितरण हुन नसकी प्रहरी चौकीमा राखिएको हो।
प्रहरी चौकीमा राखेको दुई साता बित्दा पनि राहत वितरणतर्फ कसैले चासो देखाएका छैनन्। वर्षामा त्रिपालले छोपेर राखेको राहत सामग्री बिग्रन सक्ने सम्भावना बढी छ। राहत सामग्रीमा चामल, दाल, नून, तेल, सोयाबिन, साबुनलगायत छन् ।
वडाध्यक्ष शेख नुमान आजमले सीमित परिवारको लागि आएकोले विवाद बढ्दा वितरणमा समस्या भएको बताए। उनले एकाध दिनमैं सो राहत सामग्री वितरण हुने आश्वासन दिएका छन् ।