×

वीरगञ्ज २६ जेठ । वीरगञ्ज महानगरपालिका वडा नं. २६ सुगौलीबिर्ताका अध्यक्ष शम्भु मिश्रको घरपरिवारले सुगौलीकै हीरा अन्सारीकी पत्नी अमिना खातुनलाई कुटपीट गर्दा उनको दुई महीनाको गर्भ खेर गएको पीडित पक्षले आरोप लगाएको छ।

३४ वर्षीया अमिनाका पति हीरा अन्सारीले यस्तो आरोप लगाएका हुन् । गत जेठ २ गते बिहान ७ बजेको समयमा वडाध्यक्ष मिश्रलगायत उनको भाइ, भतिजा, सहयोगी गरी चारजना आफ्नो घरको बरन्डामा आएर आफूलाई कुटेको हीराले बताए । सो क्रममा हीराकी दुई महीने गर्भवती पत्नीलाई पनि कुटपीट गरी घाइते बनाएको पीडित पक्षको दाबी छ ।

पीडित पक्षले कुटपीट खेपेर जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिंदा पनि हालसम्म कुनै सुनवाइ नभएको आरोप लगाएको छ। कुटपीटमा वडाध्यक्ष मिश्रलगायत निजका भाइ शिवनारायण मिश्र, भतिजा केशव मिश्र र सहयोगी महमुद मियाँ चुरिहार संलग्न रहेको जाहेरीमा उल्लेख छ।

वडाध्यक्षका छोरा भारत बैंगलुरुबाट गाउँ आएपछि हीरा अन्सारीले बाहिरबाट आएको भनी पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तलाई जानकारी गराएका थिए। त्यसपछि वडा प्रहरी कार्यालय सुगौलीबिर्ताको टोलीले वडाध्यक्षका छोराको यात्रा विवरण निकाल्दा उनी लकडाउनअगावै वीरगंजस्थित श्रीपुरमा भएको घरमा बस्दै आएको र वैशाख २३ गते साबिक घर सुगौली पुग्दा गाउँलेले निजलाई पनि क्वारेन्टाइनमा राखी परीक्षण गराउन सुझाएका थिए। सो क्रममा प्रहरीले खोजीनीति गरेपछि वडाध्यक्षको परिवार अन्सारी परिवारसँग चिढिएको थियो।

तत्पश्चात् जेठ १ गते वडाध्यक्ष मिश्रले सुगौली चोकमा पर्सामा लगाइएको निषेधाज्ञा जेठ ५ गते सकेपछि कुटपीट गर्ने चेतावनी दिँदै गालीगलौज पनि गरेका थिए । तर सोको भोलिपल्ट अर्थात् जेठ २ गते नै रमजान व्रत गरिरहेका अन्सारी परिवारमाथि वडाध्यक्षको समूहले कुटपीट गरेको थियो। कुटपीटबाट घाइते अन्सारी पति र पत्नीले नेशनल मेडिकल कलेजमा चार दिन उपचार गराएका थिए। सोही बेला पत्नी अमिनाको गर्भ खेर गएपछि क्युरेट पनि गरिएको पति हीरा बताउँछन्। प्रहरीमा जाहेरी दिँदा पनि वडाध्यक्षकै प्रभावमा परी प्रहरीले साथ नदिएको हीराको आरोप छ। उनले अहिलेसम्म कुटपीट गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको बताए।

यता, वडाध्यक्ष मिश्रसँग बुझ्दा उनले चुनावताकादेखि हीरा अन्सारी आफ्नो प्रतिद्वन्द्वी भएको र अहिले आएर असत्य घटनामा आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिए। उनले सामान्य विवाद मात्र भएको बताउँदै कुटपीट गरेर हीराकी पत्नीको गर्भ खेर नगएको दाबी गरे।

पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले कसैको प्रभावमा नपरी प्रहरीले निष्पक्ष काम गरिरहेको बताइन्। उनले अन्सारी परिवारले घटनालाई अलि बढी नै बढाउन खोजेको स्पष्ट पारिन्। घटना सम्बन्धमा पीडित पक्षलाई बोलाउँदा समयमा नआउने गरेको बताइन्। प्रउ पन्तले प्रहरीले अनुसन्धान जारी राखेको बताइन्।

“वास्तविक पीडितजस्तो लाग्दैन, तापनि सबै मेडिकल रिपोर्टलाई केलाइरहेका छौं, यदि ऊ वास्तविक पीडित नै हो भने वडाध्यक्ष वा जोकोही दोषीलाई कारबाही हुन्छ,” उनले भनिन् ।

प्रतीक दैनिकबाट साभार ।

Back to top