×

बीरगंज २५ जेठ । बीरगंज महानगरपालिकाले पिसीआर मेशिन र किट खरिदकालागि अगाडि बढाएको प्रक्रियालाई नागरिक समाजले स्वागत गर्दै त्यसको छिटो भन्दा छिटो स्थापित गरेर काम सूचारु गर्न सुझाव समेत दिएको छ ।

नागरिक समाजका अध्यक्ष डा.दीपक शाक्यको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि धेरै भन्दा धेरै परिक्षण गरिनु पर्ने भएकोले पनि अव महानगरको प्रयासलाई टुङ्गोमा पुर्याउनु पर्ने निष्कर्षमा नागरिक समाज पुगेको हो ।

बीरगंज महानगरका मेयर विजयकुमार सरावगीको यो अभियान पर्साका नागरिकको जीवन रक्षाको बिषयसंग सम्बन्धीत भएकोले यो बेलामा सबैको एकिकृत प्रयास आवश्यक रहेको ठहर गर्दै नागरिक समाजले समाजका बिभिन्न सरोकार राख्ने समुहलाई यो अभियानमा सहयोग पुर्याउन समेत अपिल गरेको छ ।

नागरिक समाजले एक मतका साथ पिसीआर मेशिन र किटको खरिद गरि द्रुत गतीमा कोरोना भाइरसको संक्रमण परिक्षण गरि औैधोगिक नगरि बीरगंज र समग्र पर्सा जिल्लालाई ग्रिन जोनमा लैजान सबैलाई सहकार्यकालागि अपिल गरेको डा. शाक्यले बताउनु भयो ।

नागरिक समाजको बैठकले राजनीतिक दलहरु,राजनीतिक क्षेत्रमा रहेका ब्यक्ति र जनप्रतिनिधिहरुलाई आ आफना राजनीतिक मुद्धालाई थाँती राखेर मानव सभ्यातामाथि नै चुनौती बनेको कोरोना भाइरसको नियन्त्रणमा भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

बिभिन्न समस्याहरु झेल्दै अप्ठयारोहरु पार गर्दै बीरगंज महानगर कोरोना भाइरसको संक्रमण नियन्त्रणकोलागि ठिक दिशामा अगाढि बढेको नागरिक समाजले निष्कर्ष निकालेको छ ।

समाजले अहिले नागरिकको जीवनको सुरक्षाको सवाल पहिलो प्रथामिकता भएको निष्कर्ष निकाल्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्ने निर्णय गरेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले जानकारी दिनु भयो ।

बैठकमा बीरगंज उधोग बाणिज्य संघ, नेपाल बार एशोसिएशन, नेपाल रेडक्रस सोसाइटी, बैकर्स एशोसिएन लगायतका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Back to top