वीरगञ्ज २४ जेठ । प्रदेश नं. २ को प्रदेशसभा सदस्य डा. अञ्जु कुमारी यादवले वीरगञ्ज महानगरपालिकाले कोरोनाभाइरस रोकथाम एवं नियन्त्रणका लागी स्थापना गरेको कोभिड कोषमा आफ्नो एक महिनाको तलब सहयोग गर्नुभएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालकी प्रदेश सांसद् डा. यादवले शनिबार वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई महानगरपालिका कार्यालयमा भेटेर ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
सांसद् डा. यादवले केहीदिन अघि नै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै महानगरपालिकाले कोरोनाभाइरस परिक्षणका लागी पिसीआर मेसिन, भीटिएम किटलगयात स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।
नगरप्रमुख सरावगीले चेक बुझ्दै प्रदेशसभाबाट कोभिड कोषमा आफ्नो तलब सहयोग गर्ने सांसद् डा. अञ्जु कुमारी यादव पहिलो व्यक्ति भएको बताए । उनले सबै सांसद्हरुले यसैगरी आफ्नो तलब सहयोग गरे महानगरपालिकाले देखेको सपना छिट्टै पूरा हुने बताए ।