वीरगन्ज २४ जेठ । जितपुर सिमरा उपमहानगरपालिकाका एक वडा अध्यक्षमाथि उद्योगका प्रशासकीय प्रमुखमाथि कुटपिट र लुटपाटको आरोप लागेको छ ।
वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी, राधाकृष्ण चौधरी लगायत २० जनामाथि ज्यान मार्ने उद्योग र डाँका मुद्दाको अभियोगमा इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी परेको छ ।
वडा ५ मा रहेको एडभान्स केमिकल्स प्रालिका प्रशासकीय प्रमुख देवीलाल थापामाथि गत शनिबार राति करिब पौने १२ बजेको समयमा घेरा हालेर कुटपिट गरेको र दुई लाख ५० हजार रुपैयाँ लुटेर लगेको वडा अध्यक्ष चौधरी लगायत २० जनामाथि आरोप लागेको हो ।
उद्योगका प्रबन्धक हरिशंकर कर्णका अनुसार गत शनिबार भन्सार जाँचपास भइ उद्योगतर्फ आइरहेको कच्चा पदार्थ बोकेको मालबाहक ट्रकलाई बाटो देखाउन प्रशासकीय प्रमुख देवीलाल थापा र सुपरभाइजर नविन कर्ण मोटरसाइकलमा आउँदै थिए ।
‘राजमार्गबाट उद्योग तर्फ आउने सडकमा थापा र कर्ण चढेको मोटरसाइकल वडा अध्यक्ष मोहित चौधरी लगायतको समूहले नियन्त्रणमा लियो,’ उनले भने, ‘घेरा हालेर कुटपिट गरे, ट्रक चालहरुलाई दिन राखिएको २ लाख ५० हजार ढुवानी भाडा पनि लुटे ।’ उद्योगका कर्मचारीलाई जोगाउन खोज्दा ट्रक चालकसँग रहेको ट्रकको साँचो, ब्लुबुक र अन्य कागजात वडा अध्यक्षले खोसेर लगको उनले बताए । इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी लिएर पुग्दा प्रहरीले घटना मिलापत्र गराउन खोजेको कर्णको आरोप छ ।
‘डीएसपी साहेबले दुवै पक्ष बसेर टुंग्याउने दबाब दिए,’ उनले भने, ‘योजनाबद्ध तरिकाले रातको समयमा कुटपिट र लुटपाट गर्दा पनि कसरी मिलापत्र गर्नु, हामी कानुनी कारबाहीमा जान्छौँ भनेर फर्कियौँ ।’साँचो र कागजात लुटिएको पाँचौ दिन मात्र फिर्ता पाएको उनले खुलाए । ‘वडा अध्यक्षले साँचो र कागजात बुधवार इप्रका सिमरामा दिनुभएको रहेछ,’ प्रबन्धक कर्णले भने, ‘प्रहरीले जाहेरी दर्ता नगरेपछि हामीले हुलाक मार्फत रजिष्ट्री गरि पठाएका छौँ ।’
वडा अध्यक्ष मोहित चौधरीले सबै आरोप झुठो रहेको दाबी गरेका छन् । ‘मैले कसैलाई पिटेको छैन्, न त पैसा नै लुटेको छुँ,’कान्तिपुरसँग उनले फोनमा भने, ‘यो सरासर गलत आरोप हो ।’ शनिबार राति गाउँलेले ट्रक रोकेपछि आफू पुगेको उनले बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि हामीले वडा स्तरमा समिति बनाएका छौँ,’अध्यक्ष चौधरीले भने, ‘त्यही समितिले पहिले पनि ट्रक रोकेको थियो, शनिबार राति फेरि मालवाहक ट्रक ल्याउँदा स्थानीय तहसँग कुनै समन्वय गरिएन् ।’
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार हालै सरुवा भएका डीएसपी गोविन्द पुरीकै रोहवरमा वडा अध्यक्षसँग ट्रकको साँचो लिएर उद्योग प्रतिनिधिलाई बुझाइएको थियो । ‘कुटपिट चाँहि गरेको हैन्, अवरोध मात्र गरेको हो,’ उनले भने, ‘साँचो बुझाइसक्यौँ ।’
उद्योग सञ्चालनमा बाधा
पर्सा वारा औद्योगिक कोरिडोरमा पछिल्लो समय उद्योग सञ्चालन गर्न स्थानीय जनप्रतिनिधीबाट अनेक वाधा आउने गरेका छन् । जानकारका अनुसार हरेक पालिकामा विभिन्न वहानामा पैसा माग्ने समूह नै सकृय छन् । ‘कहिले व्यक्तिगत खर्च, त कहिले राहत बाड्ने वहानामा आर्थिक प्रस्ताव राख्छन्,’ वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारी भन्छन्, ‘दिन सकिएन भने, अनेक समस्या सृजना गरिदिन्छन्, उद्योग सञ्चालन गर्न धेरै गाह्रो छ । उद्योगहरुमा आफूखुशी अनुगमन गर्ने र ठाडो आदेश गर्ने गरेका छन् । उद्योग बन्द गर्ने सम्मको आदेश दिने गरेका छन् ।’ वडा अध्यक्ष मोहित चौधरीले एडभान्स सिमेन्ट लगायत अन्य दुई उद्योगले मापदण्ड विपरित कार्य गरेकाले कारवाही गरिएको आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएका छन् ।
आइतबार विहान चौधरीले ‘एडभान्स सिमेन्टका सञ्चालकले चोर बाटो भएर रातको समयमा रोडको क्षमता भन्दा बढी ४० औँ टन भन्दा बढी माल लोड गरेर त्यसमा पनि कोभिड १९ सरकारको नियम विपरित भारतीय गाडी प्रवेश गराएकोले वडा अध्यक्ष मोहित चौधरी र वडा सदस्य लक्ष्मण चौधरी सहितको टिमले राति १२ बजेर १० मिनेमा भारतीय कन्टेनर पक्राउ गरि कारवाही गरेको जितपुर सिमरा उपमहानगरपालिका ५ का वडावासीहरुलाई जानकारी गराउन चाहन्छौँ,’ लेखेका छन् । त्यसको एकदिन अगाडि वडाअध्यक्षको टोली सोही वडामा रहेको अशोक स्टिल र अम्बर ग्यास उद्योगमा समेत अनुगमन गरेको थियो ।
अनुगमन पछि उनले फेसबुकमा ‘विश्व कोरोना भाइरस महामारीको समयमा वडा अध्यक्ष मोहित चौधरी सहितको टिमले वडा ५ मा पर्ने अशोक स्टिल र अम्बर ग्यास प्रालिमा अनुगमन गर्दा मापदण्ड विपरित मजदुरहरुलाई राखेर कम्पनी सञ्चालन गरेको पाएपछि सञ्चालकलाई वडा अध्यक्षको ठाडो आदेश मजदुरलाई कोरोना परीक्षण गर र मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्था गरेर मात्र कम्पनी सञ्चालन गर, होइन भने बन्द गर,’ लेखेका छन् । उद्योगीका अनुसार पटक पटक अनावश्यक रुपमा रकम माग गरी रकम नदिए कारखाना चल्न दिदैनौ भनि धम्की दिने समूह नै क्वारेन्टाइन निरीक्षणमा आएको हो । साभार ekantipur.com बाट