वीरगञ्ज २२ जेठ । नेपाल विद्यार्थी संघ पर्साले आज वीरगञ्जमा अर्थमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गरेका छन् ।
नेवि संघसँग आबद्ध विद्यार्थी नेताहरुले दुवै तहका सरकारको विरोध गर्दै घण्टाघर चोकमा भेला भएर अर्थमन्त्री डा. युवराज खतिवडा र मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेका हुन् ।
लकडाउनमा थुनिएका जनतासँग कर मागेर सरकारले नैतिकता पनि गुमाएको नेविसंघको आरोप छ ।
नेविसंघ पर्साका नेता विकास तिवारीले लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइसक्दा पनि सरकार भने राहत दिनुको सट्टा कर असुल्नमा मात्रै व्यस्त रहेको बताउनुभयो ।
यस्तै, प्रदेश सरकार पनि जनताको वास्ता नगरी सुतिराखेको भन्दै नेविसंघका कार्यकर्ताले चर्को आक्रोश पोखेका छन् । नेविसंघका कार्यकर्ताहरु नाराबाजी गर्दै आदर्शनगरमा पुगेर कोणसभामा परिणत भई समापन भएको हो ।