वीरगञ्ज २२ जेठ । बारामा बिहीबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बारामा एक महिला र ६ जना पुरुषगरी ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक महिला र ६ जना पुरुषसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पारस यादवले जानकारी दिए ।
उनीहरु सातैजनामा हेटौँडास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण भएको पुष्टि भएको यादवले बताए । भारतको ईन्दोर, मुम्बई, गुजरात लगायतका स्थानबाट १० दिन अघि फर्किएका सातैजना गाउँपालिकाको वडा नम्बर १ स्थित विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए ।
क्वारेन्टिनमा बस्दै आएका ५४ जनाको जेठ १९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि हेटौँडा स्थित प्रयोगशालामा पठाइएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको यादवको भनाई छ । संक्रमित मध्ये एकजना १२ वर्षका बालक समेत रहेका छन् ।