वीरगञ्ज २१ जेठ । तस्वीरमा देखिएको नदीको नाम हो – ओरिया नदी । पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ५ को सीमावर्ती गाउँ पिपडाडीमा यो नदी पर्छ । नदीले नेपाल र भारत बीचको सीमा निर्धारण गरेको छ । पहिला नदीका बीचमा पिलर रहेकोमा बाढीले बगाएर लगेको गाउँलेहरु बताउँछन् ।
सीमा पिलर बगाएपछि अहिले नेपालको १ किलोमिटर भित्रको क्षेत्रसम्म प्रवेश गरी भारतीय तस्करले धमाधम नदीजन्य सामाग्रीको उत्खनन गरी तस्करी गरिरहेको स्थानीय बताउँछन् । त्यसमाथि, जगरनाथपुर गाउँपालिकाका प्रमुख जालीम मियाँले वास्तविक सीमा भन्दा १ किलोमिटर वरै झण्डा गाडेर नयाँ सीमा निर्धारण गराईदिएका छन् ।
यसले भारतीय तस्करलाई थप बल मिलेको र नेपालको सीमा पनि वर सार्ने काम भएको स्थानीयको भनाई छ । साथै, गाउँपालिका प्रमुख मियाँले आर्थिक प्रलोभनमा परी भारततर्फ नदीजन्य सामाग्री भारततर्फ तस्करी गराईरहेको स्थानीयको आरोप छ ।
भारतको सीमावर्ती गदीयानी, भंगाहा, इनर्वा लगायतका गाउँका भारतीय तस्करले दिनहुँ नेपालको लगभग १ किलोमिटर भित्रसम्म प्रवेश गरी गिट्टी, बालुवा लगायतका नदीजन्य सामाग्री उत्खनन गरिरहेका छन् । तस्करले उत्खनन गर्ने क्रममा हाल आएर नदीसँगै जोडिएका नेपालीका खेत पनि कटान गर्ने थालेको स्थानीयले बताए । दिनहुँ लगभग ५०–६० वटा भारतीय ट्याक्टरहरु गिट्टी, बालुवा तस्करीको लागि नेपाल आउने गरेका छन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म तस्करीका ट्याक्टरको लर्को लाग्ने गरेको स्थानीयले सुनाए । अहिले जेसीबीको समेत प्रयोग गरी उत्खनन भइरहेको छ ।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई यस विषयमा कुनै वास्ता छैन । सशस्त्र प्रहरीकै सामुन्ने नेपाल प्रवेश गरी नदीजन्य सामाग्री धमाधन भारततर्फ तस्करी गर्दा समेत मुकदर्शक भएर बसेको स्थानीयले बताए । गाउँलेले सशस्त्र प्रहरीलाई यसबारे जानकारी गराएर रोक्न आग्रह पनि गरेका हुन् । “उनीहरुले कागजपत्र देखाएका छन्” भनेर सीमा सुरक्षा खटिएका सशस्त्र प्रहरीले जवाफ दिएको गाउँलेले बताए । “कागज देखाँउछन् त, नेपालबाट भारततर्फ तस्करी गरेर लान पाईन्छ ?” स्थानीय नेसार समानीले प्रश्न गरे ।
गाउँले आफैले यसअघि प्रतिकार नगरेका होइनन् । स्थानीयले प्रतिकार गर्दा यसअघि पनि वादविवाद भएको स्थानीयले बताए । स्थानीय स्तरबाट बारम्बार लडिरहनु पर्दा आफुहरुलाई समस्या पर्ने गरेको स्थानीयको गुनासो छ । सीमावर्ती गाउँका उनीहरु बाध्य छन्, चुप लागेर बस्न । नेपालतर्फ सदरमुकाम वीरगञ्ज आउनु भन्दा बजार गर्न जान भारततर्फ सजिलो छ । सो गाँउका स्थानीय सामान किनमेल गर्न भारतीय सीमावर्ती बजार नै पुग्ने गरेका छन् । बारम्बार प्रतिकार गर्दा सीमावर्ती भारतीय बजारमा सरसामान किन्न जानै समस्या पर्ने स्थानीयले सुनाए ।
जगरनाथपुर गाउँपालिकाका प्रमुख जालीम मियाँसँग यसबारे बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।
सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले भने सो क्षेत्रमा एउटा मात्र पिलर होइन दश÷बाह्र वटा पिलर हराएको बताए । यस विषयमा नापी विभागमा जानकारी गराईएको र केही महिना पहिला नापी विभागका डिजीनै आएर स्थलगत अनुगमन गरेर फर्किएको उनले बताए । नदीजन्य सामाग्री उत्खनन भई तस्करी भइरहेको सम्बन्धमा भने सशस्त्रका युनिटहरुले नियमित रुपमा गस्ती रहने गरेको र गस्ती नभएको मौकामा तस्करी भइरहेको हुन सक्ने दाबी गरे ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की यो विषयमा बेखबर देखिए । केही दिन पहिला ठोरीमा भएको सीमा विवादकै घटनामा पनि जानकारी गराउन खोज्दा फोन नै नउठाएको त्यहाँका वडा अध्यक्षले बताएका थिए । यस विषयमा पनि उनले आफु भर्खरै पर्सा आएकाले जानकारी नभएको प्रतिक्रिया दिए । “यस विषयमा म थप बुझ्छु, नदीजन्य सामाग्री भारततर्फ तस्करी भइरहेको हो भने रोक्ने र नियन्त्रण गर्ने प्रयास गर्छु” प्रजिअ कार्कीले बताए ।
ओरिया खोला र सो क्षेत्रको विवाद पूरानै हो । यसअघि पनि स्थानीयले भारतीय पक्षको प्रतिकार गरेको र सन्चारकर्मीहरुले समेत घटनास्थल नै पुगेर यस विषयको उठान गरेका थिए । तर स्थानीयसहित सन्चारकर्मीसमेत भारतीय तस्करको निशानामा परेर ज्यान जोगाएर बाँच्न सफल भएका थिए । स्थानीय प्रशासनले कुनै ध्यान नदिएको स्थानीय बताउँछन् । तसर्थ स्थानीय प्रशासन र नेपाल सरकारले यस समस्याको समाधानका लागि चाँडै पहल गर्नुपर्ने स्थानीयको माग छ ।