×

वीरगञ्ज २१ जेठ । वीरगञ्जको मुख्य सडकका व्यापारीहरूले कुनै पनि मोडालिटीमा पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले स्थानीय प्रहरी, प्रशासन र खुद्रा व्यापारीहरूलाई राखेर गरेको अन्तरक्रियामा खुद्रा व्यापारीहरूले यस्तो धारणा राखेका हुन् ।

उनीहरूले लकडाउन अवधिको ७१ दिन बितिसक्दा पनि पसल सञ्चालन गर्न नपाउँदा समस्या भएको बताए। घरभाडा, कामदार खर्च, बिजुली भाडा र घरायसी खर्चको लागि समस्या भइरहेको हुँदा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिने कुनै पनि मोडालिटीमा आफूहरूले पसल सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधव राजपालसमेतले पनि खुद्रा व्यवसायीहरूलाई समस्या भएको बताउँदै पसल सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरे । कार्यक्रममा सहभागी जिप्रका, पर्साका प्रवक्ता एवं सहायक प्रजिअ ललित बस्नेत र प्रहरी उपरीक्षक गङ्गा पन्तले व्यवसायीहरूको गुनासोलाई समितिको बैठकमा राख्ने र उचित निकास निकाल्ने आश्वासन दिएका थिए ।

प्रहरी–व्यापारी लुकामारी

वीरगञ्जको मुख्य सडकका पसलहरू सञ्चालन हुने क्रम रोकिएको छैन। लकडाउनको अवधिमा स्थानीय प्रशासनले अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरूमध्ये दूध, खाद्यान्न (किराना) पसल सञ्चालनको लागि बिहान साढे आठ बजेसम्मको समय प्रदान गरेकोमा अहिले केही दिनदेखि व्यापारीहरूले मुख्य सडकका सबैजसो पसल बिस्तारै सञ्चालनमा ल्याउँदै छन् ।

मङ्गलवार दिउँसोभरि मुख्य सडकको अलखियामठदेखि घण्टाघरसम्मका पसल छिटपुट सञ्चालनमा रह्यो । तर दिउँसो प्रहरीले सबै पसललाई बन्द गराएको थियो। बुधवार भने मुख्य सडकका पसलहरू आधा सटर खोलेर सञ्चालनमा आएका छन् । व्यापारीहरू पसलअगाडि बसेर ग्राहकलाई पसलभित्र पठाउने र सामान बिक्री गर्ने गरेका देखिए । प्रहरीले पूरै सटर खोलेर पसल सञ्चालन गर्न रोक लगाएको व्यापारीहरूले बताएका छन् ।

पसल खोल्न दिनुपर्छ – नगरप्रमुख सरावगी

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले लामो अवधिसम्म लकडाउन भएकाले अब पसलहरू सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले कोरोनाभाइरस नियन्त्रण गर्न स्थानीय प्रशासनले तय गरेको मापदण्डमा रहेर पसल सञ्चालन गराउनै पर्ने बताएका छन् ।

उनले अहिले स्थानीय प्रशासनले बिहान साढे आठ बजेसम्म अत्यावश्यक वस्तु खरीदको लागि उपलब्ध गराएको समय पर्याप्त नभएको बताए । आफूले शुरूदेखि पर्याप्त समय उपलब्ध गराएर अत्यावश्यकलगायतका सबै पसल मापदण्ड तय गरी सञ्चालनमा ल्याउनुपर्ने पक्षमा रहेको बताए । लकडाउन अवधि ७१ दिन बितिसक्दा पसल सञ्चालन गर्न नदिंदा व्यापारीहरूलाई मर्का परिरहेको उनले बताए ।

नगरप्रमुख सरावगीले बिहान, दिउँसो र बेलुका पसल सञ्चालन गर्न दिंदा भीडभाड कम भई जोखिम कम हुने बताए। पसल सञ्चालनको थोरै समय दिइएको कारण भीड बढिरहेको उनको तर्क छ ।

प्रतीक दैनिकबाट साभार ।

Back to top