वीरगञ्ज २० जेठ । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको प्रकोप ब्यवस्थापन कोषमा आज पटेर्वा सुगौली गाउँपालिकाले २५ लाख उपलब्ध गराएको छ ।
पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले कोभिड विरुद्ध वीरगञ्ज महानगरपालिकाले चालेको कदममा हातेमालो गर्न २५ लाख रुपियाँको चेक वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेका छन् ।
गत जेठ ६ गते वीरगञ्जको नगरसभागृहमा पर्साका प्रमुख राजनीतिक दलका नेतृत्व, पर्साका १४ वटै स्थानीय तहका प्रमुख र प्रदेशसभा सदस्यहरुको उपस्थिीतीमा भएको बैठकले पर्साका सवै स्थानीयतहबाट ५ करोड र वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भए अनुसार नै पटेर्वा सुगौला गाउँपालिकाले २५ लाख उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट, रिएजेन्ट किट, प्रिआइसोलेशन र कोभिड अस्पताल सञ्चालनको लागि पर्सामा भएका सम्पूर्ण पालिका र विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा पटेर्वासुगौली गाउँपालिका कार्यालयका प्रदीप चौरसिया, निर्मल सिंह र विरेन्द्र चौधरीलगयातको उपस्थिति रहेको थियो ।
आजै महाविर मन्दीर समितिको तर्फबाट एक लाख एघार हजार, ग्लोवल आइएमई र्बक वीरगञ्ज शाखाको तर्फबाट एक लाख, राजेश पाण्डेयबाट ५ हजार एक सय, राजेश्वर पाण्डेबाट ४ हजार पाँच हजार र अनिल वरनवालबाट ५ हजार दुई सय पचास प्रकोप कोषमा जम्मा गर्ने गरी नगर प्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेका छन् ।
उक्त कोषमा वीरगञ्ज महानगरपालिकाले एक करोड जम्मा गरी सकेको छ भने हाल सम्म उक्त कोषमा विभिन्न दाताहरुबाट एक करोड ५६ लाख ७५ हजार जम्मा भएको छ ।