×

वीरगञ्ज १९ जेठ । वीरगञ्जको आदर्शनगरस्थित चित्रलेखा फोटो स्टुडियोमा नाबालिका प्रयोग गरी अश्लिल गतिविधि गरेको आशंकामा पक्राउ परेका चार अभियुक्तमाथि बाल यौन दुर्व्यवहार मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रारम्भीक अनुसन्धानको क्रममा दुई नाबालिकालाई प्रयोग गरी स्टुडियो भित्र अश्लिल गतिविधि गरेको पाइएको थियो।

पक्राउ परेका स्टुडियो सञ्चालक बैजु प्रजापति, बब्लु शेख, बादल जैसवाल र मनिष मिश्रालाई बाल यौन दुर्व्यवहार आरोपमा ३ वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको पर्सा प्रहरीकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् । ‘यो सानो मुद्दा पनि होइन, यसमा दोषीलाई ३ वर्षको जेल सजाय हुनसक्छ’, एसपी पन्तले भनिन्, ‘पीडितको उमेर नाबालिका भएकाले यो मुद्दा चलाइएको छ ।’

नियन्त्रणमा आएका ११ र १३ वर्षका नाबालिका अहिले प्रहरीको संरक्षणमा बालमैत्री कक्षमा छन् । एसपी पन्तका अनुसार बाहिर आएको अफवाह जस्तो यो घटना नभएको र बालिकाले समेत वयानमा वास्तविक कुरा नखुलाउँदा अनुसन्धानमा प्रहरीलाई छानबिन गर्न समय लागेको उनले बताइन् ।

‘पीडितले नै आफूहरू पीडित नभएको बयान दिएपछि तत्काल फेला परेको प्रमाणकै आधारमा पर्सा प्रहरीले आरोपितलाई कानुनी दायरामा ल्याएको थियो, प्रकृया पुर्‍याएर मात्रै कुनै पनि मुद्दालाई कानुनी उपचार गर्नुपर्ने भएकाले सोही अनुसार तथ्य र प्रमाणको आधारमा पर्सा प्रहरी अगाडि बढिरहेको छ’, उनले भनिन् ।

घटना भएको समयमा २ नाबालिकासहित ३ जना अभियुक्त मात्र पक्राउ परेको र अर्का एक जना मुख्य आरोपि बब्लु शेख भन्ने सलाउद्धिन अली फरार रहेको अवस्थामा प्रहरीले तत्काल दुर्व्यवहारको मुद्दा चलाएको एसपी पन्तले बताइन् । तर बब्लु शेख भन्ने आरोपित पनि २ दुई दिन पछि वीरगञ्जबाटै पक्राउ परेपछि प्रहरीले नै अति संवेदनशील घटना भएको भन्दै चारै जना अभियुक्तमाथि अहिले बाल यौन दुर्व्यवहार मुद्दा दायर गरेको एसपी पन्तले बताइन् ।

(विएल नेपालमा यो खबर विमला गुप्ताले लेख्नु भएको छ ।)

Back to top