×

वीरगञ्ज १९ जेठ । मुख्य खाद्यान्न बाली धान र गहुँ उत्पादनमा प्रदेश नं २ सबैभन्दा अगाडि देखिएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ ले यी खाद्यान्नमा प्रदेश नं २ को योगदान अग्रस्थानमा देखाएको हो ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७६/ ७७ मा ५५ लाख ५० हजार ८०० मेट्रिक टन (मेट) धान उत्पादन हुने अनुमान गरेको छ । जसमध्ये प्रदेश नं २ मा मात्रै २५ दशमलव ६ प्रतिशत उत्पादन हुने आँकलन छ ।

गत वर्ष २०७५/ ७६ मा पनि धान उत्पादनमा प्रदेश नं २ नै अगाडि थियो । अघिल्लो वर्ष कुल ५६ लाख १० हजार मेट धान उत्पादन भएकोमा प्रदेश नं २ को उत्पादन २७ प्रतिशत थियो ।

यो वर्ष धान उत्पादनमा प्रदेश नं १ र ५ क्रमश : दोस्रो र तेस्रो स्थानमा छन् । प्रदेश नं १ मा २२ दशमलव ४ र प्रदेश ५ मा २१ दशमलव ४ प्रतिशत उत्पादन हुने देखिएको छ । अघिल्लो वर्ष भने प्रदेश नं ५ ले प्रदेश १ लाई पछि पारेको थियो । कुल उत्पादनमध्ये प्रदेश नं ५ मा २२ र प्रदेश नं १ मा २१ प्रतिशत उत्पादन भएको थियो ।

चालू आर्थिक वर्षमा धानको उत्पादन घटेको छ । प्रतिकूल मौसमका कारण समयमा रोपाईं हुन नसक्दा अघिल्लो वर्षको तुलनामा धान बालीको क्षेत्रफल २ दशमलव २ प्रतिशतले घटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत वर्ष धानको उत्पादन ८ दशमलव ९ प्रतिशतले बढेको थियो ।

यो वर्ष २१ लाख ८५ हजार २०० मेट गहुँ उत्पादन हुने अनुमान छ । यो परिमाणमा प्रदेश नं २ ले मात्रै २९ प्रतिशत योगदान पुर्‍याउने मन्त्रालयको तथ्यांक छ । अघिल्लो वर्ष पनि गहुँमा प्रदेशनं २ को सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत उत्पादन थियो ।

गहुँ उत्पादनमा प्रदेश नं ५ दोस्रो स्थानमा छ । कुल उत्पादनमध्ये उक्त प्रदेशमा २४ दशमलव ७ प्रतिशत उत्पादन हुने देखिएको छ । युवाहरु विदेश पलायन हुँदा श्रमिकको अभावमा खेतीयोग्य जमीन बाँझो हुनु र भूमिको खण्डीकरणले खाद्य बालीको क्षेत्रफल घटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

Back to top