×

वीरगञ्ज १८ जेठ । वीरगञ्जस्थित नारायणी अस्पतालमा पिसिआर परिक्षण बन्द नभएको अस्त्पाल प्रशासनले जनाएको छ । केही सञ्चारमाध्यमहरुमा अस्पतालमा कोरोना परिक्षणका आवश्यक सामग्रीको आभावमा पिसिआर मेसिनबाट परिक्षण रोकिएको भन्ने खबर आएपछि अस्पताल प्रशासनले परिक्षण बन्द नभएको जनाएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले पिसिआर मेसिनलाई फ्युमिगेसन अर्थात निर्मलीकरण गर्नका लागी आज एक दिनको लागी परिक्षण बन्द गरेको जानकारी दिए । यात्रा डेलीसँग कुरा गर्दै मेसु डा. उपाध्यायले भने, 'परिक्षण बन्द गरिएको होइन, पछिल्लो समयमा धेरै पोजेटिभ केसहरु देखिएपछि पिसिआर फ्युमिगेसनका लागि आज एक दिन बन्द गरिएको हो, यो नियमित प्रक्रिया हो । समाचार आए जस्तै परिक्षण नै ठप्प भएको छैन ।'

मेसु डा. उपाध्यायले आजको लागी परिक्षण बन्द भएपनी स्वाब सङ्कलनको कार्य भने जारी रहेको बताए । उनले अहिले दैनिक रुपमा डेढ सय देखि दुई सयसम्म व्यक्तिहरुको कनट्र्याक्ट ट्रेसिङ्ग मार्फत स्वाब सङ्कलन भएको जानकारी दिए । 'आज परिक्षण बन्द गरीए पनी स्वाब सङ्कलनको कार्य जारी छ, भोली देखि पुन: परिक्षण सुरु हुन्छ,' मेसु उपाध्यायले भने ।

नारायणी अस्पतालमा बन्द रहेको जनरल सेवा पनि क्रमस सुरु हुँदै गएको छ । गत बैशाख २ गते वीरगञ्जमा ३ भारतीयहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछी स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताललाई लेभल २ को कोभिड अस्पतालमा रुपान्तरण गरेको थियो । कोभिड अस्पताल सञ्चालनमा आएपछी नारायणीको जनरललगयातका सम्पूर्ण सेवाहरु ठप्प थिए ।

तर, पछिल्लो समयमा नारायणीमा भर्ना गरिएका सबै सङ्क्रमितहरु निको भएर घर फर्केपछी अस्पताललाई निसङ्क्रमण गरेर जनरल सेवा सुचारु गर्न लागिएको हो । हाल पर्सामा भेटिएका सङ्क्रमितहरुको नारायणी कै अस्थाई कोभिड अस्पतालका रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचार चलिरहेको छ ।

Back to top