×

सांसद रौनियारको पहलमा पोखरीया अस्पताललाई प्रदेश सरकारले उपलब्ध गरायो ३७ लाख रुपैयाँ

वीरगञ्ज १८ जेठ । जिल्ला अस्पताल पोखरीयालाई औषधि तथा स्वास्थ्य सामाग्री खरिदका लागि प्रदेश २ सरकारले ३७ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

कोरोना भाइरस सक्रमण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री तथा संक्रमितहरुलाई खाना खुवाउन प्रदेश सरकारले ३७ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

पोखरीया अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नती गराएर अहिले कोरोनासँग जुध्न प्रदेश सरकारबाट आवश्यक बजेट निकासा गर्न त्यस क्षेत्रका सांसद हरिनारायण रौनियार लागि पर्नुभएको थियो ।

यसअघि सांसद रौनियारकै पहलमा पोखरीया अस्पताललाई जिल्ला अस्पतालको रुपमा रुपान्तरण गरिएको थियो । पोखरीया अस्पतालले गएको दुई साताभित्रै अत्याधुनिक एम्बुलेन्ससहित अहिले कोरोनासँग लड्न ३७ लाख रकम प्राप्त गरेको हो ।

अस्पताललाई औजार उपकरण खरिदमा १० लाख, जनशक्ति व्यवस्थापनमा १० लाख, कोभिड १९ संक्रमित व्यक्तिहरु एवं स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना व्यवस्थापन खर्च १० लाख, औषधि खरिदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी ३७ (सैतीस) लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

त्यसअघि अस्पतालमा २५ बेड क्षमताको आइशोलेसन वार्ड निर्माण भएको छ । क्षेत्र नम्बर तीनमा पर्ने यस अस्पतालको स्तरोन्नती तथा समग्र अस्पतालको सेवा बृद्धिमा त्यही क्षेत्रका सांसद रौनियार लकडाउनको यो बेलामा पनि सकृय भएर लागि परेका छन् ।

पोखरीया अस्पतालका साथै रौनियारले आफ्नो क्षेत्रमा पर्ने विभिन्न स्वास्थ्य चौकीहरुमा कोरोना भाइरससँग लड्न आवश्यक पर्ने पीपीई सेट, थर्मल गन, मास्क, सेनिटाईजर लगायतका सामाग्री आफैँ पुगेर हस्तान्तरण गरेका थिए ।

Back to top