×

वीरगञ्ज १८ जेठ । पर्साको पोखरीया नगरपालिका अन्तर्गत शिवबर्वा–सिमरवारी सडकखण्ड कालोपत्रे गरिने भएको छ ।

पर्साको क्षेत्र नम्बर तीनमा पर्ने यस क्षेत्रको विकासका निम्ति सँधै लागिपरेका संघीय सांसद हरिनारायण रौनियारको पहलमा चार करोडको लागतमा सडक कालोपत्रे गरिने भएको हो ।

संघीय सरकार अन्तर्गतको शहरी विकास मन्त्रालयमा सांसद रौनियारको निरन्तरको प्रयासका बाबजुद सडक कालोपत्रे गर्न टेण्डर आह्वान भएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना पर्साले सडक कालोपत्रे गर्नका लागि टेण्डर आह्वान गरेको हो ।

आयोजनाले निकालेको सूचना अनुसार असार १ गतेसम्म बोलपत्र भर्ने समय दिइएको छ । संघीय सरकार अन्तर्गतको मन्त्रालयबाट आफ्नो क्षेत्रको विकासका लागि बजेट ल्याएको सांसद रौनियारले बताए ।

रौनियारकै पहलमा पर्साको गर्दौलदेखि श्रीपुर पचगावासम्मको सडक निर्माण कार्य सुरु भएको छ । १० करोडको लागतमा सडक निर्माणको काम धमाधम भइरहेको हो ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका रौनियार आफ्नो क्षेत्रको विकासका लागि लकडाउनको समयमा पनि दैनिक सकृय भएर लागिरहेका छन् ।

यस्तै पोखरीया नगरपालिका ९ शिवबर्वामा राम मन्दिर निर्माण हुने भएको छ । सांसद रौनियार र जनता समाजवादी पार्टीको प्रयासमा प्रदेश २ सरकारले मन्दिर निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको छ ।

लक डाउनका बेला पनि गाउँगाउँमा पुगेर नागरिकका समस्या बुझ्नुका साथै विकास निर्माणका कामलाई पनि अघि बढाउन सांसद रौनियार लागि परेका छन् ।

Back to top