×

वीरगन्ज १८ जेठ । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै दुर्गन्धित बनेको छ । प्रहरीले ज्यादति गरेको भन्दै यहाँका सरसफाइकर्मीहरू हडतालमा बसेपछि वीरगन्ज महानगरको सरसफाइ दुई दिन देखि ठप्प भएको हो । योसँगै पुरै शहर नै दुर्गन्धित भइरहेको छ ।

फोहोर उठाउन सडकमा निस्कदा प्रहरीले लकडाउन उल्लघंन गरेको भन्दै कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मीहरू शनिबारदेखि काम ठप्प पारेर हडतालमा बसिरहेका छन् ।

वीरगन्जको पावरहाउस चौक, मुर्ली, श्रीपुर, घण्टाघर, माईस्थान, आर्दशनगर, नारायणी अस्पताल नजिकै मेनरोड, छपकैया, नगवा लगायतको क्षेत्रमा दुईदिनमै फोहोरको डंगुर थुप्रिएको छ । अस्पतालबाट निस्केका फोहोर समेत सडकमा जथाभावि फालिएको अवस्थामा छ ।

वीरगन्ज महानगरपालिकाले ठेक्का र आफना कर्मचारी मार्फत महानगरको फोहोर उठाएर ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गर्दै आएको छ । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै कुटपिट समेत गर्न थालेपछि सरसफाइकर्मीहरू काममा नआएको महानगरको सरसफाईको ठेक्का लिएको पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताए ।

गत बिहिबार सरसफाई कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेपछि त्यहि दिन सफाई कर्मचारीहरुले फोहोर उठाउन छाडेका थिए । लगत्तै नगर प्रमुख विजय सरावगीले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग समन्वय गरेर त्यसदिन सफाई कर्मचारीलाइ काममा फर्काएका थिए ।

तर शुक्रबार साँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईट तिर लिएर जाने क्रममा माईस्थान चोकमा प्रहरीले सरसफाई कर्मचारीलाई अवरोध गर्दै दुव्र्यवहार तथा कुटपिट गरेको थिए । प्रहरीको कुटपिटबाट ट्याक्टर चालक वीरगन्ज २४ बहुअरीका बृजकिशोर कुशवाहाको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । उनको एडभान्स अस्पतालमा उपचाररत थिए । अहिले उनी घर फर्किसकेका छन् ।

पटकपटक प्रहरीबाट अवरोध, दुव्र्यवहार र कुटपिट हुन् थालेपछि सरसफाइकर्मीहरू फोहोर उठाउन छाडेर हड्तालमा बसेका हुन् । कोरोनाको महामारीमा ज्यान समेत जोखिममा राखेर खटिएका सरफाइकर्मी माथि प्रहरीले पटक पटक अनावश्यक दुव्र्यवहार र अवरोध गरेकाले काम गर्न समस्या भएको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनलका निर्देशक गुप्ताले बताए ।

Back to top