×

वीरगंज १८ जेठ । संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटबारे प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मिश्रित प्रतिक्रिया दिएका छन्।

सोनलले सरकारको बजेट महत्वाकांक्षी भएको तर व्यवहारमा कार्यान्वयन गर्न निकै समस्या हुने टिपण्णी गरेका छन्। ‘महत्वाकांक्षी जस्तो देखिने तर पूरा गर्न र गराउन सन्दर्भमा बजेट झन्झटिलो र अपुरो छ,’ मन्त्री सोनलले भने, ‘अहिलेको विपद्को समयमा विदेशबाट आएका नेपाली युवालाई एउटा सेफ ल्याण्डिङ गर्ने योजना ल्याउँछ होला सोचिएको थियो तर रोजगारी दिने सरकारले भनेको छ, तर कसरी दिनेबारे बजेट मौन छ।’

उनले राज्यले कोरोना महामारीसँग जुध्न प्रदेश २ सरकारलाई पनि स्पेसल प्याकेजको आह्वान गरिए तापनि केन्द्र सरकारले प्रदेश २ सरकार र यहाँको जानताको भावनासँग खेलबाड गरेको उनको आरोप छ।

मानव विकास सूचकांकका आधारमा नेपालको ७ प्रदेशमध्ये प्रदेश २ र कर्णाली प्रदेश सबैभन्दा पछि परेको हुँदा यहाँको लाखौं जनताका लागि केन्द्र सरकार छुट्टै स्पेसल प्याकेज दिन बजेटमा कुनै व्यवस्था नगरेको हुँदा यसपालीको बजेट पनि पुरानै ढर्राको रहेको उनको तर्क छ।

‘बजेटमा अर्थमन्त्रीज्यूले केही नयाँ स्किम पनि ल्याउनु भएको छ, तर कतिपय ठाउँमा पुरानै गीत गाएको जस्तो सुनिएको छ,’ उनले टिप्पणी गर्दै भने, ‘विदेशबाट आउने ३० लाख नेपाली नागरिकलाई कृषि र सिंचाई क्षेत्रमा कसरी केन्द्रीकृत गरी रोजगारी दिन सकिन्छ भन्नेबारे पनि सरकारको बजेट अपुरो छ।’

उनले प्रदेश २ का आठ जिल्लामा अस्पताल बनाउने वा भएका अस्पताललाई पनि पर्याप्त बजेट विनियोजन नगरेको र कोरोना महामारीमा फ्रन्टलाइनमा काम गर्नेहरुका लागि पनि उपयुक्त सुविधा नल्याएको उनले आरोप लगाए। केन्द्र सरकारले ७ प्रदेशलाई समानीकरण अनुदानतर्फ ५५ अर्ब १७ करोड अनुदान छुट्याएको छ। यसरी एक प्रदेशलाई पौने ८ अर्ब जति अनुदान पाइने अनुमान गरिएको छ।

प्रदेश २ को बजेट ३५ अर्बको हाराहारीमा

प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ मा करिब ३५ अर्बको हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको प्रदेश सरकारले जनाएको छ।

सोनलका अनुसार गत वर्ष करिब ३० अर्बको बजेट ल्याइएकोमा यस वर्ष ३२ देखि ३५ अर्बको हाराहारीमा बजेट आउनसक्ने अनुमान गरे। ‘प्रदेश २ का मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री विजय यादवजीले आगामी बजेटबारे छलफल शुरु गरिसकेका छन्,’ उनले भने, ‘थप योजना र सरकारको लक्ष्यबारे पनि सरोकारवालाहरुसँग छलफल भइरहेको छ।’

'आगामी वर्षको बजेटमा प्रदेश २ सरकारको पैसा दुई वटा कुरामा मात्र निर्भर रहने छ। पहेलो कोरोना महामारीलाई कसरी नियन्त्रण गर्ने अर्को, कोरोना नियन्त्रणपछि यहाँ उत्पन्न हुने बेरोजगारी, गरिबी, उद्योग व्यापारलगायत क्षेत्रलाई कसरी माथि उठाउने ?,' उनले भने।

मन्त्री सोनलले प्रदेशले कोरोना असरबाट विस्तारै जीवनस्तर माथि उकास्ने लक्ष्य बजेटले राख्ने बताए। ‘कृषि र सिंचाईमा केन्द्रीत रहेर प्रदेश २ सरकारले बजेट ल्याउन लागेको छ, विदेशबाट आएका प्रदेश २ का युवाहरुलाई आफनै गाउँठाउँका केही गरेर जीवन बिताउने र कोरोनाको असरबाट विस्तारै जीवनस्तर माथि उकास्ने लक्ष्य राखेको छौं,’ उनले भने।

त्यसपछि शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी रहेको मन्त्री सोनलले सुनाए। pahilopost.com मा राधेश्याम पटेलले लेखेका समाचार

Back to top