×

वीरगञ्ज, जेठ १८ - कोरोनाभाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि भारतले बन्दाबन्दी घोषणा गरेपछि त्यहाँ रोजगारका लागि गएका नेपाली नागरिकहरु धमाधम स्वदेश फर्किन थालेका छन् ।

प्रदेश प्रहरीको तथ्याङ्कअनुसार बन्दाबन्दीको समयअवधिमा शुक्रबारसम्म प्रदेश २ का १८ हजार ३ सय ४५ जना नेपाली भारतबाट फर्किए । यसको करिब दुई गुणा नेपाली कामदार अझै भारतमै फसिरहेको त्यहाँबाट फर्किनेहरुको भनाइको आधारमा अनुमान लगाउन सकिन्छ । जबकि, खाडीमुलुकलगायत तेस्रो देशमा मजदुरी गर्ने नेपालीको संख्या यो भन्दा कयौं गुणा बढी छ ।

१८ स्थानीय तह रहेको धनुषा जिल्लाको एउटा नगरपालिका, सबैलामा मात्रै भारतबाट आएर करिब पाँच सय स्थानीय क्वारेन्टाइन भइसकेका छन् ।

भारतबाट आएको भन्दा करिब दुई गुणाभन्दा बढी नेपाली अहिले पनि भारतमै रहेको उनीहरु बताउँछन् । बन्दाबन्दीको बेला भारतबाट फर्किनेहरुको तथ्याङ्क केलाउँदा मुश्किलले पाँच प्रतिशत विद्यार्थी छन्, बाँकी सबै मजदुर । त्यसमा पनि अधिकांस गुजरातको सुरत र अहमदावादस्थित होटलमा काम गर्नेहरु छन् ।

सबैला –१३, परसाहीका २८ वर्षीय विन्दुलाल मुखिया अहम्दावादस्थित होटलमा काम गर्थे । एकसाता अघि नेपाल फर्केका उनी भारतीय सीमा कटेपछि सीधै क्वारेन्टाइन पुगेका हुन् ।

गाउँ नजिकैको विद्यालयमा क्वारेन्टाइन भएको एक हप्ता बितिसक्दा पनि उनले परिवारका सदस्यलाई भेट्न पाएका छैनन् । विन्दुले जुन परिवारको गुजारा चलाउन गुजरातको होटलमा मजदुरी गर्छन्, तिनै परिवारका सदस्यहरु गाउँ नजिकै बसेको बेला पनि भेट्न नआउँदा जति दुःखी छन्, त्योभन्दा बढी अब के गर्ने भन्ने अन्यौलताको घेरामा परेका छन् ।

“चार वर्ष कतारमा मजदुरी गरेपछि गाउँमा जम्मा तीन कट्ठा खेत किनें । सानैदेखि बसिरहेको झुपडीलाई पक्की बनाउने सपना पनि अधुरै रहयो,” उनी भन्छन्, “घरको जग हालियो, पिलर र पर्खाल पनि जोडियो । छत हाल्न अम्दावादको होटलमा मजदुरी गर्न के गएँ, कोरोनाले त्यहाँपनि कमाउन नसकिएपछि घरको सपना पनि अधुरै रहयो ।”

गाउँमा भएको तीन कट्ठा खेतमा काम गरेर मात्रै परिवारको गुजारा चलाउन नसकिने बताउने उनी कोरोना शान्त भएर अवसर पाए फेरि उतै फर्किने नभए गाउँमै मजदुरी गर्नुको विकल्प नरहेको बताए । दुई सन्तानका बाबु विन्दुले गाउँमै रोजगार पाए अर्काको देशमा गएर काम गर्ने कुनै चाहना नभएको बताउँछन् ।

सिमराढीका २० वर्षीय जितेन्द्र शर्मा अहम्दावादमा काम गर्न थालेको १२ वर्ष पुग्यो । सुरुमा होटलको भान्छाघरमा मजदुरी गर्ने उनी पछिल्लो समय कुकम्यानको काम पाए । बन्दाबन्दीमा होटल बन्द भएपछि गाउँ फर्केर विद्यालयको क्वारेन्टाइनमा बसिरहेका उनले अब सकेसम्म त्यहीँ काममा नफर्किने सोच बनाइरहेका छन् ।

“बुवाले गाउँमै फर्निचरको काम गरिरहनु भएको छ सकेसम्म म पनि त्यही काम सिकेर गाउँमै बस्ने सोच बनाइरहेको छु” उनले भने ।

गोविन्दपुरका ३९ वर्षीय चन्द्रदेव यादवले सुरतमै १९ वर्ष बिताइसकेको बताउँछन् । उनी पनि सुरुमा होटलमै मजदुरी गर्थे अहिले कुकम्यानको काम गर्न थालेका छन् । त्यहाँ २२ हजार रुपैयाँ तलब पाउने उनले पनि अब नफर्किने सुनाए ।

“लकडाउन कहिले खुल्ने हो त्यो नै निश्चित छैन” उनले भने, “खुलिहाल्ने हो भने पनि त्यहाँको अवस्था समान्य बन्न समय लाग्न सक्छ । अर्काकै देशमा कति खट्नु ? अब गाउँम कि होटल वा परिवारमा सल्ला गरेर अर्को कुनै आफ्नै व्यवसाय सुरुवात गर्ने योजना बनाउँदैछु ।”

सबैलाका ३१ वर्षीय सुरेन्द्र यादवले पनि चार वर्ष मलेसियामा काम गरेर सुरत गएका हुन् । २५ हजार रुपैयाँ तलब पाउने मलेसियामा बसेर उभो नलाग्ने देखेपछि गाउँ फर्केका उनी गाउँमा मजदुरी गरेर झनै नचल्ने अवस्थाको सामना गरे । छ महिना सुरतको होटलमा काम गरेर बन्दाबन्दीमा घर फर्केका उनले अवस्था समान्य भएपछि फेरि उतै जाने सुनाउँछन् ।

Back to top