बीरगंज ३१ बैशाख । वीरगन्जका १०४ पत्रकारले आज पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । विभिन्न संचारगृहमा कार्यरत पत्रकारले आज नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् ।
बुधबार पीसीआर परीक्षणका लागि १०४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । संक्रमीत दुई पत्रकारको परिवारका सदस्यको स्वाब पनि संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
आज संकलन गरिएका स्वाब रिपोर्ट सम्भवत शुक्रबारसम्म आउने सम्भावना रहेको मेसु उपाध्यायले बताउनुभयो । आइतबारदेखि मङगलबारसम्म वीरगंजमा भएको प्रदर्शन र धर्नासहितको आन्दोलनमा संक्रमीत दुवैजना पत्रकारसँगसँगै अरु पत्रकार सहभागी भएकाले अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । कोरोनो पोजेटिभ देखिएका दुवै पत्रकारलाई हिजो साँझ नै नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको छ ।