×

वीरगन्ज ३१ बैशाख । मंगलबार ३९ मध्ये दुईजना पत्रकारमा समेत कोरोनाको पुष्टि भएपछि वीरगञ्जका पत्रकारहरू त्रसित बनेका छन्। दुईजना अगुवा पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू त्रासमा आएका हुन्।

नारायणी अस्पतालका प्रमुख उपाध्याले दुईजना पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको बताए। ‘निरन्तर फिल्डमा घुमि रहने भएकोले उहाँहरूले स्वस्फूर्त रुपमा स्वाब परीक्षण गराउनु भएको थियो, दुई जनामा पोजिटिभ देखिएको छ,’ उनले भने।

चार दिनअघि वीरगञ्जमा प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनालाई लिएर पत्रकारहरू आन्दोलित छन्। उनीहरू वीरगञ्जको घण्टाघरमा जम्मा भएर प्रहरीविरुद्ध प्रदर्शनसमेत गरेका थिए। साथै पत्रकार दुव्र्यवहारको विषयलाई लिएर वीरगञ्जका पत्रकारहरू प्रमुख जिल्ला अधिकारी तथा पर्साका प्रहरी प्रमुखसँग छलफलसमेत गरेका थिए।

दुईजना पत्रकारमा कोरोना पुष्टि भएपछि अन्य पत्रकारहरू पनि स्वाब परीक्षण गराउने सोचमा पुगेको वीरगञ्ज घर भएका नेपाल पत्रकार महासंघ प्रदेश २ समितिका अध्यक्ष दीपेन्द्र चौहानले जानकारी दिए। फिल्डमा निरन्तर काम गर्नुका साथै सँगै उठबस हुने भएकोले सबैजना स्वाब परीक्षण गर्ने सोचमा पुगेको उनले बताए।

‘दुईजना साथीमा कोरोना पुष्टि भएको छ, उहाँहरूसँगै अरु ८/१० जनाले स्वाब परीक्षण गराउनु भएको छ,’ उनले भने,‘उहाँहरूको रिपोर्ट आइसकेको छैन्। संख्या बढ्नसक्ने आशंका गरेका छौं।’

अध्यक्ष चौहानले कोरोनाको जोखिम बढि रहेको भन्दै अत्यावश्यकबाहेक अन्य रिपोर्टिङका लागि घर बाहिर ननिस्कन पत्रकारहरूलाई आग्रहसमेत गरेका छन्।

Back to top