×

वीरगन्ज ३१ बैशाख । नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न ५० बेडको व्यवस्था गरिएको छ। २९ जना कोरोना संक्रमित अहिले त्यहाँ उपचारको लागि भर्ना छन्। तर, मंगलबार एक्कासी ३९ जना कोरोना संक्रमित थपिएपछि नारायणी अस्पतालमा उपचारमा समस्या भएको बताइएको छ।

नारायणी अस्पतालमा बेड कम भएपछि नयाँ संक्रमितमध्ये कतिपयलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइन पठाइएको छ भने केहीलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ।

नारायणी अस्पतालका प्रमुख डा.मदन उपाध्यायले समेत कोरोना संक्रमितको संख्या थपिएपछि चुनौती थपिएको बताए। ‘हामीसँग ५० बेडको व्यवस्था छ, २९ जना यसअघिदेखि भर्ना छन्,’ हेल्थपोस्टसँग कुरा गर्दै डा.उपाध्याले भने,‘चुनौती थपिएको छ, तर हामी समाधान गर्नतर्फ लागेका छौं।’

उनले मंगलबार थपिएका कोरोना संक्रमितहरूलाई समेत नारायणी अस्पतालमै भर्ना गरिने दाबी गरेका छन्।

कोरोना महामारी रोकथाम गर्न लकडाउन भएको दुई महिना पुग्न केहीदिनमात्र बाँकी छँदा प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न जनकपुरबाहेक अन्य कुनै अस्पतालमा छुट्टै अस्पताल सञ्चालन गर्न सकेको छैन्। वीरगञ्जको गण्डक अस्पताललाई कोरोना अस्पताल बनाउन माग भइरहेपनि निर्माणले तिव्रता पाउन सकेको छैन्।

प्रदेश २ लाई कोरोनाको उच्च जोखिम क्षेत्रको रुपमा देखिएको बेला आवश्यक पूर्वाधार तयार नहुँदा थप समस्या बल्झिन सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्।

Back to top