वीरगञ्ज १६ वैशाख, । रौतहटका २ जना कोरोना संक्रमितलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । दुई संक्रमितमध्ये १ जना नारायणी अस्पतालमा भर्ना भइसकेका छन् भने अर्का संक्रमितलाई पनि ल्याइँदैछ । देवाही गोनाही–१ करुनिया टोलका ३५ वर्षीय पुरुषलाई आइसोलेसन वार्डमा राखिसकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
उनी दिल्लीबाट वैशाख ४ गते नेपाल आएका थिए । क्वारेन्टाइन जानुअघि उनी घर परिवार र ससुरालीमा केहिदिन बसेको पाइएको छ । अर्का संक्रमित वृन्दावन नगरपालिका–९ भुसाहा टोलका २४ वर्षीय युवालाई पनि उपचारका लागि नारायणीमा ल्याइँदैछ । उनी क्वारेन्टिन अवधि सकेर घर गएको हुनाले अस्पताल पठाउन ढिलाइ भएको हो । कोलकत्ताबाट चैत २२ गते घर आएपछि उनलाई चन्द्रपुर स्थित क्वारेन्टाइनमा राखिएको थियो ।