वीरगञ्ज, बैसाख ८ - गृह मन्त्रालयले हालै बढुवा भएका १० जना डीआईजीको पदस्थापन गरेको छ । गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट रिक्त रहेका डीआईजीको दरबन्दीमा १० जनालाई पदस्थापन गरेका हुन् ।
पदस्थापन भएर प्रदेश नं. २ को डिआईका रुपमा धिरजप्रताप सिंह आएका छन् । त्यसैगरी एक नम्बर प्रदेशमा ईश्वरबाबु कार्की, बाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, ५ नम्बर प्रदेशमा रविन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रकाशजंग कार्कीलाई पदस्थापन गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा सहकुलबहादुर थापालाई पदास्थापन गरिएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रहरी महाशाखामा अरुणकुमार बिसीलाई लगिएको छ ।
त्यसैगरी २ नम्बर प्रदेशका डीआईजी प्रद्युम्नकुमार कार्कीलाई विशेष ब्युरो, सीईबीमा कार्यरत निरजबहादुर शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालय र सूर्य उपाध्यायलाई प्रशासन विभागमा सरुवा गरिएको छ । हालै बढुवा भएका डीईआजीको पदास्थापन सम्बन्धी निर्णय गृह मन्त्रालयले सोमबार साँज प्रहरी प्रधान कार्यालयलाई पठाएको छ।
२०७५ माघ २८ गते २२ जना डीआईजीहरुले एकैपटक अवकाश पाएपछि ६ वटा प्रदेशका प्रहरी प्रमुखसहित अन्य स्थानमा पद रिक्त थियो। दुई महिनादेखि ६ वटा प्रदेश,लागू औषध नियन्त्रण ब्युरो,साइबर ब्युरो तथा प्रहरी प्रधान कार्यालयमा डीआईजी रिक्त थिए ।
यसअघि प्रहरीमा डीआईजीको संख्या ३४ रहेकोमा साधरण सेवातर्फबाट २६ थिए तर सरकारले केही साताअघि मात्रै २६ जनाबाट घटाएर डीआईजीको संख्या १४ मा सीमित गरेको थियो। हाल प्रहरीमा साधरण र प्राविधिक गरेर कूल डीआईजीको दरबन्दी संख्या २२ छ ।