वीरगञ्ज, बैसाख ८ - वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले महानगर क्षेत्र भित्र तीन करोड ५० लाख भन्दा बढी रकमको राहत वितरण तथा स्वास्थ्य क्षेत्रमा खर्च गरेको जनाएका छन् ।
वीरगञ्ज महानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गर्दै हाल सम्म महानगरपालिका कार्यालयले नगर क्षेत्रका ३२ वटै वडामा ३२ हजार चार सय ९९ परिवारलाई राहत वितरण गरिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख सरावगीले राहत स्वरुप चार लाख ३९ हजार किलो चामल, ३० हजार नौ सय ७० किलो दाल, ५२ हजार लिटर तेल लगायतका राहत सामग्री वितरण भई सकेको बताउदै राहत वितरणका लागि प्रदेश सरकारले २५ लाख रुपैया पठाएको जानकारी दिए । त्यसैगरि उनले लकडाउनको अवधिमा वीरगञ्जमा भित्रिने तथा बाहिरिने ७० हजारभन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको बताउनु भएको छ ।
नगरप्रमुख सरावगीले चैत्र ११ गतेदेखि हालसम्म लकडाउनको अवधिमा वीरगञ्ज महानगर क्षेत्र भित्र ७० हजार नगरवासीको स्वास्थ्य चेकजाँच गरिएको र पाँच हजार भन्दा बढीको र्यापिड डाईनोष्टिक टेष्ट (आरडिटी) परिक्षण सम्पन्न भएको तथा शंकास्पद ५२ जनाको हेटौडा तथा काठमाडौँमा पिसिआर परिक्षण गर्दा तीन जनामा कोरोना संक्रमण भेटिएको र उनिहरुको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।
उहाँले नारायणी अस्पतालबाट जाने अन्य रोगका बिरामीहरुलाई नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाईएको भए पनि अस्पतालले बिरामीसँग सरकारी रेटभन्दा बढी पैसा असुलेको गुनासो आफू कहाँ आएको बताउनुभयो ।
नगर प्रमुख सरावगीले आगामी दिनमा संक्रमण फैलिन सक्ने हुँदा त्यसलाई नियन्त्रण गर्न नारायणी अस्पतालले मात्रै धान्न नसक्ने अवस्थामा गण्डक अस्पताल कोरोना अस्पताल बनाउन महानगरले सम्झौता गरेको र गण्डक अस्पताल सञ्चालन कोरोना अस्पतालको रुपमा नारायणी अस्पतालले नै गर्ने दावी समेत गर्नुभयो ।