वीरगञ्ज, चैत्र २९ - नेपाल सरकारले कोरोनाभाइरस सङ्क्रमणको रोकथामका लागि लगाएको लकडाउन हाम्रो सुरक्षाको लागि भएपनि दैनिक ज्यालादारी गरेर आफ्नो जिविको पार्जन गर्ने गरिवलाई भने सास्ती भोग्नु परेको छ ।
त्यस्ता गरिव र दैनिक ज्यालादारी गरे आफ्नो छाक टार्ने व्यक्तिलाई सहयोग गर्न विभिन्न स्थानीय तहहरु आ-आफ्नो स्थानमा सहयोग गर्न तम्सिरहेको बेला पार्साको पकाहा मैनपुर गाउँपालिकाले भने राहत वितरणका लागि आफ्नो सम्पूर्ण तयारि पूरा गरिसकेको छ ।
पकाहा मैनपुर गाउँपालिकाले राहत वितरण गर्न सम्पूर्ण सामग्री मौज्दात गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश प्रसाद सिंहले बताए । उनले गाउँपालिकाले गाउँ सभाको बैठकबाट सम्पूर्ण वडाहरुमा पहिचान गरिएको लक्षित परिवारहरुलाई राहत वितरणको लागि सम्पूर्ण तयारि लगभग पूरा भइसकेको जानकारी दिए ।
अधिकृत सिंहले गाउँपालिकाका अध्यक्ष विजय चौरसियाको निर्देशन र गाउँसभाको बैठकको निर्णय अनुसार गाउँपालिकामा कुनै व्यक्ति भोकै नरहने योजना अन्तर्गत राहत वितरणको कार्यमा आफुहरु लागेको बताए ।
उनले गाउँपालिकाको विशेष गाउँसभाबाट ८० लाख र त्यसमध्ये बाट गाउँ कार्यपालिकाको बैठकबाट ४० लाख बराबरको बजेट पहिलो चरणमा बिनियोजन गरि राहत सामग्री खरिद गरिएको बताए । सम्पूर्ण सामाग्रीहरु विशेष परिस्थितिमा सार्वजनिक खरिद एन नियामावाली अनुसार खाद्यान्न सामग्री खरिद गरिएको छ ।'
गाउँपालिकाले ४०५ क्विन्टल सोना मन्सुली चामल, २१ सय किलो मसुरको दाल, २१ सय किलो चना, २१ सय किलो सोयाबिन, ४१ सय लिटर तोरीको तेल, ८५ सय किलो आलु, ४२ सय किलो प्याज, ४८ सय किलो नुन गरि आठ वटा खाद्यान्न सामग्री खरिद गरेको छ ।
खरिद गरिएको सामग्रीबाट गाउँपालिकाले गरेको निर्णय अनुसार प्रत्येक परिवारलाई १० किलो चामल, आधा किलो दाल, आधा किलो चना, आधा किलो सोयाबिन, एक लिटर खाने तेल, २ किलो आलु, १ किलो प्याज, १ किलो नुन गरिने छ ।
सिंहले खरिद गरिएको सामग्री बाट केहि खाद्यान्न सामग्रीलाई बफर स्टकका रुपमा राखेर बाकिको वितरण समेत सुरु भइसहेको बताए । उनले हाल गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष मदन साह कानु र वडा नं. ४ का वडा अध्यक्ष ढेडि प्रसाद यादव ले राहत वितरणको कार्य समेत सुरु गरिसकेको र वडा नं ५ का वडा अध्यक्ष लेक्मन प्रसाद कुर्मी ले सामग्री बुझी लिनु भएको भन्ने जानकारी दिए । बाकि राहतका सामग्री गाउँपालिकाको श्रीराम चरित्र भगत माविमा राखी प्याकिङ्ग भइरहेको र यथा शिघ्र वितरण हुने वहाले जानकारी दिनुभयो ।