वीरगञ्ज, चैत्र २६ - वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरेपछि अर्को अस्पताल लिएको केहीबेरमै एक किशोरको मृत्यु भएको छ।
निमोनिया आशंकामा उपचार गर्न आएका बारा महागढीमाई नगरपालिका-४ दैहार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार दिउँसो मृत्यु भएको हो।
मृतकका बुवा मनोज सहनीले अस्पतालमा जाँच गर्दा निमोनिया भएको भन्दै अस्पतालबाट डाक्टरले जबरजस्ती बाहिर निकालेको आरोप लगाए।
मेडिकल कलेजका डाक्टरहरूले उपचार गर्न नमानेपछि आफन्तहरूले एम्बुलेन्स राखेर सहनीलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा लिएका थिए।
अस्पतालमा भर्ना गरेको केहीबेरमै मृत्यु भएको हो।
सहनीको मेडिकल हिस्ट्री हेर्दा निमोनियाको कारण मृत्यु भएको र थप अनुसन्धान भइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डाक्टर अबुल हैक अन्सारीले बताए।
नेशनल मेडिकल कलेजका सञ्चालक बसुरूद्दिन अन्सारीले अस्पतालमा उपचार गराउन आएका निरञ्जनको अवस्था गम्भीर रहेको र आईसियू वार्डमा बेड खाली नभएका कारण बिरामीलाई अन्यत्र पठाएको दाबी गरे।