वीरगञ्ज, चैत्र २५ – बडिविल्डीङका राष्ट्रिय खेलाडी वीरगञ्जका अजयकुमार गुप्ताले आफ्नो घरमा बस्नेहरुसँग लकडाउन अवधिभरको घरभाडा नलिने घोषणा गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी गुप्ताले आफ्नो घरमा बसेका २५ परिवारलाई घरभाडा छुट दिने घोषणा गरेका हुन् ।
लकडाउनका कारण दैनिक मजदुरी गरी गुजारा चलाउने परिवारलाई समस्या हुन लागेको आफूले देखेकाले आफ्नो घरमा भाडा लिएर बसेका सबैलाई लक डाउन अवधिभरको घरभाडा छुट दिने निर्णय गरेको गुप्ताले बताउनुभयो ।
लकडाउन अवधी लम्बिएर दुई महिनासम्म पुगे पनि आफूले त्यो अवधिसम्मको कुनै पनि भाडा नलिने उहाँको भनाई छ । यसका साथै घरभाडामा बस्ने परिवारलाई आफूले सक्दो सहयोग गर्ने पनि गुप्ताले बताउनुभयो ।
घरभाडामा बस्नेहरु यो अवधिमा कोही विरामी परे उपचारका लागि पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।
घडिअर्वामा रहेको गुप्ताको घरको २५ वटा कोठामा छिमेकी देश भारतसहित वीरगंज तथा नेपालका विभिन्न ठाउँका व्यक्तिहरु भाडा लिएर बसेका छन् ।