वीरगञ्ज, चैत्र २३ - पर्सा क्षेत्र नम्बर ३ का सांसद एवम् समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियारको पहलमा पर्साको पोखरिया अस्पतालमा कोरोना उपचारको लागि ५ शैयाको आइसोलेसन वार्ड बन्दैछ । सांसद रौनियारको सक्रियतामा सो आइसोलेसन निर्माण हुन लागेको हो ।
आइतबार पोखरिया नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले अस्पतालमा आइसोलेसन थप्ने निर्णय गरेको छ । सांसद रौनियारको उपस्थितिमा भएको बैठकमा मेयर दीपनारायण रौनियार, उपमेयर सलमा खातुन, वडा अध्यक्ष र प्रहरी प्रशासनका प्रतिनिधिहरुको सहभागिता थियो ।
पर्सा क्षेत्र नम्बर ३ को मध्यभागमा रहेको पोखरियामा कोरोना उपचारका लागि आवश्यक आइसोलेसन निर्माण गर्दा संक्रमण नियन्त्रण सहज हुने विश्वास गरिएको छ । यसअघि अस्पतालमा ३ वटा यस्ता वार्ड निर्माण भइसकेको छ । अस्पतालको पूर्वाधार सुधारमा स्थानीय केही औद्योगिक समूहले पनि सहयोग पु¥याएका छन् ।
कोरोना फैलिन नदिन सतर्कताका साथै संक्रमित भेटिएमा उनीहरूको उपचारको पूर्वतयारीका लागि आइसोलेसन अनिवार्य भएकाले यस्तो पूर्वाधार थप्न लागिएको बताइएको छ । सरसफाइलाई प्रभावकारी बनाउन सांसद रौनियारले पोखरिया र पकाहामैनपुरमा १००÷१०० ओटा डस्टबिन उपलब्ध गराउने भएका छन् ।
बैठकले पालिकाभित्र कोरोनाको रोकथामबारेमा चेतना विस्तारका लागि पूर्व स्वास्थ्यकर्मीको सहभागितामा समन्वय समितिसमेत बनाएको छ । लकडाउन पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । सरकारले एउटा पालिकाबाट अर्को पालिकामा जान रोक लगाएको छ । पोखरियामा एक वडाबाट अर्को वडामा जान पनि बन्देज गरिएको छ । अतिआवश्यक परेमा स्वीकृति लिएरमात्रै जान सकिने बताइएको छ ।
मेडिकल हेल्प डेस्क स्थापना गरिने भएको छ । संघ, प्रदेश र स्थानीय सरकारको राहत कोषको रकमलाई लक्षित परिवारको पहिचान गरी प्रभावकारी बनाउने निर्णय पनि सर्वपक्षीय बैठकबाट भएको छ ।