×

 

वीरगन्ज ७ चैत्र । पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये वीरगंज महानगरपालिकासहित ६ वटा स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ । वीरगंज महानगरपालिकामा दुई महीनाभन्दा बढी समयदेखि स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

मनपाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको बढुवा भएपछि वीमनपा प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेपछि अहिले स्वास्थ्य महाशाखा प्रमुख महतोलाई नै आर्थिक कारोबारसहितको जिम्मेवारी हेर्नेगरी निमित्त तोकेको छ ।

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले महानगरमा प्रमुख प्रशासकीय अधिकृतका लागि तीनजनाको नाम आइरहेको तर मन्त्रालयले अहिलेसम्म एकजनालाई पनि जिम्मेवारी तोकेर पठाउन नसकेकोमा दुःखेसो व्यक्त गरे । उनले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन राखिनु मन्त्रालयको कमजोरी भएको बताए ।

Back to top