वीरगञ्ज २९ फागुन । तराई मधेसमा बुधबार पनि होली मनाइएको छ । मंगलबार माछामासु नखानेहरुले बुधबार होली मनाएका हुन् । तर होलीको मौका छोपेर माछामासुको मूल्यमा मनपरी गरिएको उपभोक्ताको गुनासो छ । बुधबार बिहानैदेखि मासु पसलहरुमा मासु किन्न उपभोक्ताको भिड लागेको थियो । माछामासु व्यवसायीले आफूखुशी मूल्य निर्धारण गरेर माछामासुको बिक्री गर्ने गरेका छन् ।
खसीको मासु नौ सय रुपैयाँ प्रतिकिलो रहेकोमा मासु व्यवसायीले होलीको मौका छोपेर एक हजारदेखि एघारसयसम्मा बिक्री गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयमा बसेको उपभोक्तावादी संघसंस्था तथा सरोकारवालाहरुको बैठकले होलीमा माछामासुको मूल्य वृद्धि नगर्ने निर्णय गरेको थियो ।
बैठकमा माछामासु व्यवसायी पनि सहभागी थिए । तर स्थानीय प्रशासनको निर्देशन र निर्णयलाई समेत वेवास्ता गर्दै माछामासु व्यवसायीहरुले मनलाग्दी मूल्यमा माछामासु बिक्री गरेका हुन् । होलीकै कारण बजारमा मासुको माग अत्याधिक बढेको छ । वीरगञ्जमा मात्रै बुधबार खसी, बाख्रा, बोकाको अन्दाजी ३६ सयदेखि ३८ सय किलो मासु बिक्री भएको माछामासु व्यवसायी संघ वीरगञ्जले जनाएको छ ।
उपभोक्ताले महंगोमा मासु किन्न पर्ने बाध्यता भए पनि बजार अनुगमनमा भने नियमनकारी निकाय मौन बसेका छन् । माछामासु व्यवसायीले मनपरी ढंगले बढी मूल्यमा माछामासु बिक्री वितरण गरिरहँदा पनि नियामक निकायले कारवाही गर्न नसकेको वीरगञ्ज- १४ का सुबास आलेले गुनासो गरे ।
बजार अनुगमनमा स्थानीय तहको मात्रै दायित्व देखाएर संघीय सरकारको प्रतिनिधित्व गर्ने जिल्ला प्रशासन कार्यालय तथा जिल्लामा रहेका वाणिज्य तथा उभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका नियमनकारी निकायहरुको पनि अनुगमनमा तदारुकता देखिएका छैनन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले चाडवाडको समयमा कर्मचारी विदामा हुने भएकोले बजार अनुगमन गर्न नसकिएको बताए । उपभोक्ता हित संरक्षण मञ्चले भने स्थानीय प्रशासनको उदासिनता र मासु व्यवसायीहरुको मनपरीको विरोध गरेको छ । मञ्चका प्रदेश अध्यक्ष केसी लामिछानेले दिनदहाडै माछामासु व्यवसायीहरुले उपभोक्ता ठग्दासमेत स्थानीय प्रशासनले कारवाही गर्न नसक्नु दुःखद रहेको बताए ।