वीरगंज, २६ फागुन । नक्कली नेपाली नागरिकता बनाएर बेच्ने गाविसका पूर्वसचिवलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि नक्कली नागरिकता बनाएर बेच्ने धन्दामा लागेका वीरगन्ज महानगरपालिका–१५ भिस्वाका पूर्व सचिव बिन्दा साहलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले साहलाई उनकै घरबाट पक्राउ गरेको थियो । छापा मार्ने क्रममा प्रहरीले उनको घरबाट चार दर्जन भन्दा बढी नक्कली नागरिकता प्रमाणपत्र पनि बरामद गरेको थियो । नागरिकता बनाउने कोठामा ताल्चा लगाएर बसेका साहलाई पक्राउ गरेपछि प्रहरीले उक्त कोठाको ताला फोडेर कोठाभित्र बाक्सादेखि सिरानीसम्म नक्कली नागरिकता, नागरिकता माग गर्ने फारम, फोटो, भारतीय नागरिकता परित्यागका कागजपत्र, जन्मदर्ता र विवाह दर्ताका कागजलगायतका नक्कली कागजात फेला परेको प्रहरीले जनाएको छ ।
साहलाई पक्राउ गर्दा उनकै आफ्नै तीन वटा नागरिकता समेत भेटिएको छ । उनले प्रतिव्यक्ति ४० हजार रुपियाँका दरले नागरिकता बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । साहसँग अन्य व्यक्ति पनि नक्कली नागरिकता बनाउने गिरोहमा सामेल हुनसक्ने भन्दै प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ । साह सचिव हुँदा भ्रष्टाचारमा संलग्न रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको थियो । अख्तियारले दर्ता गरेको मुद्दामा उनी दोषी ठहर भएपछि पाँच महिना जेल पनि बसेका थिए ।