वीरगन्ज २४ फागुन । मौसम परिवर्तनसँगै पर्सामा भाइरल इन्फ्लुएन्जाबाट संक्रमति रोगीको संख्यामा वृद्धि भएको छ । बदलिँदो मौसमका कारण तापक्रममा हुने अस्वाभाविक परिवर्तनले जिल्लामा रुघाखोकी र ज्वरोका रोगीको संख्या बढेको हो ।
दिनभरि चर्को घाम लाग्ने र बिहान बेलुका हुने चिसोका कारण भाइरल इन्फ्लुएन्जाका रोगीको संख्या बढेको चिकित्सकको भनाइ छ । एक सातायता नारायणी अस्पतालमा आउने इन्फ्लुएन्जाबाट सङ्क्रमित रोगीको संख्या अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।
अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आउने रोगीमध्ये २ तिहाईभन्दा बढी इन्फ्लुएन्जाबाट सङ्क्रमित बिरामी रहेको चिकित्सकले बताएका छन् । इन्फ्लुएन्जाबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा शैलेश ठाकुरले बताए ।
उनले रुघाखोकी र कडा ज्वरोबाट ग्रसित भएका दैनिक २०० भन्दा बढी बालबालिका उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए । मौसम परिवर्तनसँगै हुने बिरामीलाई जोगाउन तातो झोल पर्दाथको सेवन बढाउनुका साथै सरसफाइमा ध्यान दिन डा ठाकुरले सर्वसाधारणलाई आग्रह गरे ।
उनले नियमित साबुन पानीले हात धुनुका साथै चिसो हावाबाट बालबालिकालाई जोगाए मौसमी रोगबाट बचाउन सकिने सुझाव दिए । रोग प्रतिरोधात्मक क्षमता कम भएकै कारण बालबालिका तथा वृद्धवृद्धा मौसमी रोगबाट बढी संक्रमित हुने गरेको इर्मेजेन्सी रोग विशेषज्ञ डा।उदयनारायण सिंहले जानकारी दिए । उनले हरियो सागसब्जी तथा फलफूलको प्रयोग बढाउनुका साथै नियमित व्यायाम गरे मौसमी संक्रमणबाट जोगिन सकिने बताए । रासस