वीरगञ्ज, फागुन १२ - सृजनशील युवाहरुको समुह संस्कृति, समर्थ नेपाल र कोड फोर नेपालको सह-आयोजनामा आइतबार पुन: प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने ३ दिने प्रशिक्षक परिक्षण (टिओटि) शुरु भएको छ ।
तालिममा सहभागीहरुलाई पुन: प्रयोग गर्न मिल्ने सेनेटरि प्याड बनाउदा अपनाउनु पर्ने आवश्यक प्रकृयाका बारेमा प्रशिक्षण दिईने छ । त्यसैगरी तालिममा सेनेटरी प्याड बनाउन सिकाउनका साथ् महिनावारीबारे अन्य महत्वपूर्ण जानकारी गराउनका साथ् महिनावारी बेला अपनाउनु पर्ने स्वच्छता, लाग्न सक्ने रोगबाट बच्ने उपायलगयात पक्षहरु बारे समेत अभिमुखीकरण गरिने छ ।
वीरगञ्जको काभेरी एकेडेमीमा भएको तालिमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले गर्नुभएको थियो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक पन्तले प्रजनन स्वास्थ्य तथा महिनावारीको बारेमा अँझै पनि पुरातनवादी सोचका कारण महिलाहरु समाजको अग्रपंक्तिमा आउन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।
उहाँले आफुले त्यस्ता पुराना सोचलाई प्रवाह नगरी समस्यादेखी संघर्ष गर्दै जाँदा अहिले जिल्लाको सुरक्षा क्षेत्रका नेतृत्व गर्न सफल भएको बताउनुभयो । समयको बिकास सँगै छाउपडि प्रथा हट्दै गएको बताउँदै अबदेखी महिलाहरुले पनि आफ्नो साँघुरो सोचाईलाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी पोखरिया नगरपालिकाकी उप-प्रमुख सल्मा खातुनले महिनावारीबारे खुलेर कुरा गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले महिनावारी महत्वपूर्ण प्राकृतिक प्रक्रिया भएकोले यस्को बारे महिलाहरुलाई बढि अध्ययन र जानकारी लिनुपर्नेमा जोड दिनुभयो ।
संस्कृतिकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा भएको तालिमको उद्घाटन समारोहमा काभेरी एकेडमीकी सञ्चालिका आयुषी तुल्स्यान, संस्कृतिका किरण गिरि, हिमांशु बरनवाल, शशिकान्त सर्राफलगायतको उपस्थिती रहेको संस्कृतिका सदस्य विवेक बरनवालले जानकारी दिनुभयो ।
२० जना महिला तथा पुरुषको सहभागिता रहेको टिओटी तालिममा समर्थ नेपालकी प्रियाशा महर्जन र सुरुवी रेग्मीले प्रशिक्षण दिइरहनुभएको छ । कार्यक्रम सञ्चालन आशु सर्राफले गर्नु भएको थियो ।