वीरगन्ज १४ माघ । वीरगन्जको लिंकरोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करोडौ रुपैया लिएर फरार भएको एक बर्ष वित्नलाग्दा पनि पर्सा प्रहरीले संचालक समितिलाई पक्राउ गर्न सकेकाे छैन । स्थानिय १४ सय जनाले संस्थामा जम्मा गरेको करिब १० करोड रुपैया संस्थाका संचालक समितिका अध्यक्ष सहितकाले सो रकम लिएर फरार भएको एक बर्ष वितिलाग्दा पनि प्रहरीले पक्राउ गर्न नसकेकाे हाे । नेपाल प्रहरीको ११२ टोलीका प्रहरी अधिकृत हुन् पर्साका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौर । उनी अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा पनि परिचित छन् । तर उनी पर्सा जिल्लामा आएको ८ महिना वित्तिसक्दा पनि फरार सहकारी संस्थाका संचालक समितिका पदाधिकारीलाई पक्राउ गर्न सकेन । स्थानियले आफनो खुनपसिना बगाएर संस्थामा जम्मा गरेको करोडौ रुपैया लिएर संचालक समितिका अध्यक्ष राजेश पटेल र कोषाध्यक्ष उनकी श्रीमती रिता कुमारी पोखरेल नेपालमै मौजमस्ती गरीरहेपनि प्रहरीले पक्राउ गरीरहेको छैन् । पटेल आफ्नो परिवार सहित गृह जिल्ला रौतहटको सखुवा धमौरा वडा नम्बर ७ मा जनताको रकमले विलासी जिवन विताई रहेका छन । सोमबार सहकारीबाट ठगिएका स्थानियले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलनको आयोजना गरी फरार पटेल सहित संचालक समितिका पदाधिकारीलाई पक्राउ गरी आफ्नो रकम असुल उपर गराउँन आग्रह गरे । पत्रकार सम्मेलनमा वीरगन्ज १६ ईनर्वाका लालदेव यादवले ठगि गर्ने सहकारी संस्थालाई पर्सा प्रहरीले अहिले सम्म पक्राउ नगरेको गुनासो गरे । उनले भने, हामी गुहार लिएर जिल्ला प्रहरी कार्यालयमा जान्छौ तर त्यहा रहेको प्रहरी अधिकृतहरुले उल्टै हप्काएर पठाउँने गरेका छन । प्रहरी अधिकृत भन्छन्, तिमि कोसंग सोधेर पैसा जम्मा गरेको हौं, जाउँ तिम्रो पैसा अब डुबि सक्यो केहि हुनेवाला छैन भनि गैर जिम्मेवारी देखाउँदै हप्काएर पठाउँने गरेको बताए । पत्रकार सम्मेलनमा वीरगन्ज ४ विर्ताका देवनारायण भडेलले आफ्नो डेढ करोड रुपैया संस्थाले ठगि गरेको बताए । उनले भने, आफ्नो जग्गा बेचेको १ करोड ५० लाख रुपैया संस्थाका अध्यक्ष पटेलले बार्षिय १८.७५ प्रतिशत बार्षिक व्याजमा एकबर्षको लागि फिक्स डिपोजित गरेका थिए । २०७६ जेष्ठ १८ गते रकम जम्मा गरेको एक बर्ष पुग्ने वाला थियो, तर पटेलले २०७५ चैत्र २४ गते नै सहकारीको करोडौ लिएर फरार भए । मेरै घरमा घरभाडा लिएर बसेका थिए, उनको श्रीमती र परिवार संग राम्रो हेलमेल पनि थियो उनले भने, मेरो जग्गा बेचेको पैसा आएको देखेर पटेलले मलाई व्याजको प्रलोभलन देखाएर करोडौ लुटेर गयो । उनले थपे, हाम्रो परिवारका सदस्यले समेत उनकै सहकारीमा बचत गरेका करिब १३ लाख ४७ हजार रुपैया पनि जम्मा गरेको थियो । पटेल आफ्नै घरमा लुकिछिपी बसीरहेको जानकारी पाएपनि उनको रौतहट घरमा जाँदा पटेलका बुवाले मेरो छोरालाई बेपत्ता बनाईस् भनि उल्टै धाकधम्की दिने गरेको गुनासो समेत उनले गरे । पटेल लुकेर बसेको बारे प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले कुनै सुनवाई गरेन् ।
भिख माँगी जम्मा गरेको रकम समेत सहकारीले छाडेन्