×

वीरगञ्ज २ असोज । बाराको हरपुर बलुवा वडा नम्बर ७ की २२ वर्षीय बासमती सहनीको मुहार चम्किलो छ । प्रशव पीडाबाट उठ्नै बाँकी भए पनि छोरो जन्मेको खुशीमा बासमतीको मुहार चम्किएको हो ।

्उ्नलाई छोरोको अघि प्रशव पीडा रत्तिभर पनि लागेको आभाष हुँदैन । वीरगञ्जको रजतजयन्ती चोकै नजिक रहेको नेपाल इण्डो हस्पिटलमा बासमतीको छोरो जन्मीएको हो । गएको भदौ २५ गते छोरो जन्मेको थियो ।

झण्डै एक सातापछि बासमती शुक्रबार काखमा छोरा च्यापेर खुशीसाथ घर फर्किएकी छिन् । घरको आर्थिक अवस्था कमजोर रहेको र सुत्केरीका लागि अस्पताल भर्ना गर्दा लागेको खर्च तिर्न पनि कठीन भएको जानकारी पाएपछि अस्पतालले बासमतिको उपचारमा लागेको खर्चको पचास प्रतिशत खर्च छुट गरिदियो ।

अरुको जग्गामा खेति किसानी गरेर परिवारको गुजारा चलाउने पर्ने अवस्था बिरामीको परिवारको रहेको र अहिले बन्दीको बेलामा झनै समस्या रहेको थाहा पाएपछि अस्पतालले बासमतिको उपचार खर्चमा ५० प्रतिशत छुट दिएको हो ।

अस्पतालले दिएको ५० प्रतिशत छुट आफूहरुका लागि झण्डै सबै खर्च ब्यहोरेको जस्तै हलुका भएको बासमतिका दाजु सम्रित सहनी बताउँछन् ।

यस्तै अस्पतालले बाराकै माधवपुर ६ का ६० वर्षीय विश्वनाथ दासको उपचार पनि निशुल्क गरिदिएको छ । आर्थिक अवस्था निकै कमजोर भएका उनी छारे रोगले ग्रसित थिए ।

दैनिक ज्यालामजदुरी गरेर पेट पाल्ने अवस्थामा रहेका उनको उपचारमा लागेको खर्च तिर्ने अवस्था नदेखेपछि आफूहरुले नै निशुल्क औषधी उपचार गरिदिएको अस्पतालका प्रमुख चन्द्रशेखर ठाकुरले बताए ।

कोभिड संक्रमणका कारण अहिले कतिपय अस्पतालले बिरामीलाई आवश्यक सेवा समेत नदिइरहेको अवस्थामा इण्डो अस्पतालले भने बिरामीलाई फर्कन दिएको छैन ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको मेहनतले नै अस्पतालले सबै बिरामीलाई आवश्यक सेवा दिन सकिएको पनि अस्पतालका प्रमुख ठाकुर बताउँछन् ।

Back to top