×

वीरगञ्ज ३१ भदौं । कोभिड संक्रमण भएपछि वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ का हेमन्त पाण्डेय गएको एक सातादेखि होम आइसोलेशनमा छन् । कुनै लक्षण नभएका उनको दैनिकी पहिलेजस्तो घरबाहिर निस्कन नपाए पनि घरभित्रै बसेर कटिरहेको छ ।

तर, बुधबार उनको घरअघि अचानक एक हुल मान्छे पुगेपछि घरको झ्यालबाट बाटोमा हेरिरहेकी पाण्डेको आमा भित्र छिरिन् । हुलमा प्रहरी, क्यामेरा बोकेका पत्रकारसमेत देखेपछि हत्तपत्त आफ्नो छोरालाई बाटोमा आएका हुलतर्फ देखाइने ।

उनको घरअघि विभिन्न पर्चा, पम्प्लेट तथा सचेतनासम्बन्धी विभिन्न सूचना बजाउँदै आएको हुल अरु नभएर कोभिड वारियर्स समूहको थियो । यो समूहले गएको एक सातादेखि कोभिड संक्रमण संक्रमित भएका व्यक्तिहरुको घर–घरमा पुगेर संक्रमितका साथै संक्रमित रहेका टोलवासीलाई आवश्यक परामर्श दिइरहेको छ ।

कोभिड संक्रमण भइ निको भएका स्थानीय युवा, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताहरुले यो समुह गठन गरेर संक्रमित र टोलछिमेकमा कोभिडका बारे आवश्यक जानकारी दिँदै आइरहेको छ । आफू कोरोना संक्रमित भएको बेला भोगेका पिडा र दुःखबाट अब अरु गुज्रिन नपरोस भन्ने आशयले कोभिड वारियर्स समूह गठन गरिएको यसका संयोजक नवराज फुयाँलले बताए ।

समूहले कोभिड संक्रमित पाण्डेयलाई भेटेर कोभिडका बारेमा आवश्यक परामर्श दिएपछि भने उनमा उत्साह देखिएको थियो । घरभित्रै बसिरहेका उनलाई बाहिरका व्यक्तिहरु घरै अगाडि आएर कोभिडसँग नडराउन भन्दै हौसला दिँदा आफूमा छुट्टै प्रकारको उर्जा थपिएको उनले बताए । साथै टोलछिमेकमा पनि संक्रमितलाई मायाँ र सद्भावका साथ हेर्न आग्रह गरेको देखेपछि उनले आफू संक्रमण मुक्त भएपछि अभियानमा लाग्ने प्रतिबद्धता नै जनाए ।

कोरोना संक्रमित भएदेखि छिमेकीले समेत हालखबर नसोधेका उनीसँग भेट्न नचिनेका व्यक्तिहरु पुगेपछि उनले खुशी हुँदै भने, ‘कोरोनाको लक्षण नभए पनि मनमा एउटा भय थियो, तर तपाइँहरुसँग भेटेर त्यो हटेको छ । कोरोनालाई तपाइँहरुले जितेझै म पनि जितेर छिट्टै तपाइँहरुसँग हिड्छु ।’

संक्रमित भएकाहरुमा यस्तै मनोवल वृद्धि गर्न आफुहरुले अभियान सुरु गरेको समुहका संयोजक फुयाँलले बताए । उनि भन्छन, ‘म आफँै कोरोना संक्रमित हुँदा मलाई संक्रमणले भन्दा पनि समाजले हेर्ने दृष्टिकोणले चिन्तित बनाएको थियो । साथीभाइ र सहकार्मीहरुले हौशला बढाए पनि आफू बस्ने टोल छिमेकका व्यक्तिले साथ दिएनन् । लक्षण नहुँदा नहुँदै पनि अस्पतालको आइसोलेशनमा गएर बस्नु प¥यो ।’

अभियान अन्तर्गत आज (बुधकार) वीरगञ्जको घण्टाघर क्षेत्रमा होम आइसोलेशनमा रहेका संक्रमितहरुसँग भेटघाट गरिएको थियो । भेटघाटसँगै अभियन्ताहरुले कोरोना संक्रमण सम्बन्धी आवश्यक परामर्श तथा जनचेतना समेत फैलाईरहेका छन् ।

संक्रमितलाई अपहेलित गर्ने तथा हेयको दृष्टिले हेर्नहरुको विरोधमा सचेतनामुलक सन्देश दिने जिंगलहरु समेत बजाएर स्थानीयलाई जागरुक गराइएको वारियर्स समूहका हेमन्त तामाङले बताए ।

अभियान अन्तर्गत सम्बन्धीत क्षेत्रकै जनप्रतिनिधिलाई जिम्मेवार बनाउन उनीहरुलाई पनि साथमै लिएर हिँडिएको छ । वडा नम्बर ८ का वडाध्यक्ष राजकिसोर गुप्ता, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, अभियन्ता आशुकुमार सर्राफ, नितु चौधरीलगायत स्थानीय प्रहरी सहभागि थिए ।

Back to top