×

वीरगञ्ज १८ भदौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहट जिल्लाको विभिन्न स्थानबाट ल्याइएको ५ सय ७६ वटा थ्रोट स्वाबको नमुनाहरु परिक्षण गर्दा थप १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमित मध्ये पर्साका ६९ जना पर्सा जिल्लाको रहेका छन् भने २४ जना बारा जिल्ला र १७ जना रौतहट जिल्ला को रहेका छन् ।

३० महिलासहित थपिएका सङ्क्रमितहरुमा डेढ वर्षको बालकदेखि ८० वर्षको वृद्धसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

पर्सामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका ४९ जना रहेका छन्, त्यसैगरी पर्सागढी नगरपालिकाको वडा नम्बर ४ र ७ गरेर सात जना, बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ र ५ गरेर पाँच जना, पोखरिया नगरपालिकाको वडा नम्बर ४ र १० गरेर चार जना र कालिकामाई गाउँपालिकाको वडा नम्बरको २ को चार जना रहेका छन् ।

त्यस्तै बारा जिल्लामा थपिएका सम्पूर्ण सङ्क्रमितहरु कलैया उपमहानगरपालिकाको विभिन्न वडाका बासिन्दा हुन् । त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर ३ का १७ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका २४ भन्दा कम सिटि भ्यालु भएका ३४ जना सङ्क्रमित रहेका छन् भने २४ भन्दा माथि सिटि भ्यालु भएका ७६ जना सङ्क्रमित रहेका छन् ।

Back to top