×

वीरगञ्ज २८ श्रावन । अलपत्र अवस्थामा वीरगञ्जमा मृत भेटिएका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रहरीलाई वीरगञ्जमा मंगलबार दिउँसो मृतक अवस्थामा भेटिएका बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्याय अनुसार मृत भेटिएका बाराका युवाको स्वाबको नमूना संकलन गरेर पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

उपाध्यायले मृतकको शव नारायणी अस्पतालमा पोष्ट मार्टमका लागि ल्याएपछि स्वाब संकलन गरिएको जानकारी दिए ।

युवाको शव प्रहरीलाई मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवास्थित सामुदायिक प्रहरी कार्यालय नजिकै बाटोमा अलपत्र अवस्थामा भेटेको थियो । उनी मृत फेला परेपछि घटनास्थल जाँच मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया प्रहरीले पूरा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुवँरले मंगलबार दिउँसो करिब साढे ३ बजे युवक मृत अवस्थामा फेला परेका बताए । उनले घट्ना बारे थप अनुसन्धान चलिरहेको जानकारी समेत दिए ।

युवामा कोरोना सङ्क्रमण देखिएपछि उनको शव व्यस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको कुँवरले बताए । अत्याधिक मदिरा सेवन गर्ने उनलाई घर परिवारले खासै वास्ता नगर्ने गरेको पाईएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

Back to top