×

वीरगञ्ज २२ श्रावन । वीरगञ्जस्थित श्री रेलेव माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशकुमार चौरसियालाई कोरोना संक्रमण भएको छ ।

नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको परिक्षणको नतिजा बुधबार आउँदा प्रधानाध्यापक चौरसियामा समेत कोरोना पोजेटिभ देखिएको हो ।

४७ वर्षीय चौरसियाले श्रावन ११ गते रेलवे विद्यालयमा भएको एक घर एक पिसिआर अभियानमा कोरोना परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए । बिहिबार नारायणी अस्पतालले सार्वजनिक गरेको ४३ जनाको कोरोना पोजेटिभहरुको सूचीमा उनको नाम पनि रहेको छ ।

चौरसिया हाल वीरगञ्ज-१३ स्थित आफ्नो घरको होम आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिए ।

'श्रावन ११ गते मैले आफ्नै विद्यालयमा महानारपालिकाले गरेको एक घर एक पिसिआर परिक्षण अभियान अन्तर्गत आफ्नो स्वाब जम्मा गराएको थिए, आज १२ दिनपछि मेरो रिपोर्ट पोजेटिभ आएछ,' चौरसियाले भने, 'मलाई कुनै लक्षण देखिएको छैन, म एकदमै स्वस्थ छु । अहिले आफ्नै घरमा छुट्टै कोठामा बस्दै छु ।'

उनले अस्पतालबाट आइसोलेसनमा जानका लागि फोन आएपनि आफुमा कुनै लक्षण नभएको कारण होम आइसोलेसनमा बस्ने निर्णय गरेको जानकारी दिए ।

चौरसियाले १२ दिनपछि कोरोना परिक्षणको रिपोर्ट आउँनु लापरवाही भएको बताए । उनले १२ दिन ढिलो गरेर रिपोर्ट आउँदा सङ्क्रमण फैलन सक्ने भय बढेको बताए ।

नारायणी अस्पतालले परिक्षणको नतिजा प्रकाशन गर्न ढिलो गर्दा समुदायका अन्यमा समेत आफुले कोरोना सार्न सकेको चिन्ता व्यक्त गर्दै छिट्टै अर्को पटक परिक्षण गर्ने बताए ।

Back to top