×

वीरगञ्ज १५ श्रावन । पर्सागढी नगरपालिकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेखेर नगरभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुलाई वीरगञ्जस्थित होटेल कुमु प्यालेशमा आइसोलेट गरिने जानकारी दिएको छ ।

नगरपालिकाले आज जिल्ला प्रशासन कार्यालय पर्सालाई एउटा पत्र काट्दै श्रावन १७ देखी नगरपालिका कार्यालय पनि अनिश्चितकालकालागि बिदा दिइएको जनाएको छ ।

पर्सागढी नगरपालिकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुमा धेरै स्वास्थ्यकर्मीनै रहेका छन । स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि नगरपालिका भित्र रहेका स्वास्थ्यसंस्थाहरु पनि बन्द भएका छन ।

सङ्क्रमित ६ जनालाई एउटा स्वास्थ्य संस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनु भयो । स्वास्थ्यकर्मीको पनि अभाव रहेकोले उहाँहरुलाई सार्ने तयारी गरिरहेको नगरपालिकाले जनाएको छ । नगरभित्र आइसोलेसन निर्माण गर्ने बिषयमा समेत छलफल भइरहेको पर्सागढीका नगरप्रमुख लोकनारायण यादवले जानकारी दिए ।

पर्सागढी नगरपालिकाले सूचना जारी गरेर वीरगञ्जको होटेलमा आइसोलेसन सञ्चालन गर्ने सूचना जारी गरे पनि जिल्ला संकट ब्यवस्थापन केन्द्रलाई भने यो बिषयमा कुनै जानकारी नदिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । उनले होटेलमा आइसोलेसन सञ्चालनको कुनै पनि खालको अनुमती नदिइएको बताए ।

पर्सा जिल्लामा ६२ जना सङ्क्रमितहरु वीरगञ्जको गण्डक अस्पतालमा निर्माण गरिएको अस्थायी नारायणी कोरोना अस्पतालमा भर्ना गरिएका छन ।

अन्य १ सय २६ जना अस्पताल भन्दा बहिर रहेका छन । त्यस मध्य लक्षण नदेखिएका कतिपय ब्यक्तिहरु वीरगञ्जका होटेलमा आफै पैसा तिरेर आइसोलेटेड भएर बसेका छन । अस्पतालमा रहेका ६२ मध्य ३६ जनामा कोरोना भाइरसको संक्रमण पछि देखिने लक्षणहरु देखिएको चिकित्सकले जनाएका छन ।

Back to top