×

वीरगञ्ज १३ श्रावन । विश्व महामारीको रूपमा देखिएको कोरोना संक्रमणको प्रभावका कारण आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक व्यापारमा गिरावट आएको छ । आयातमा आएको कमीका कारण वैदेशिक व्यापारघाटा सुध्रिएको देखिए पनि यसले राजस्व संकलनमा गम्भीर धक्का पुगेको छ ।

आव २०७५/७६ मा भन्सार विभागले रू. ३ खर्ब ५४ अर्ब राजस्व संकलन गरेकोमा गतवर्ष ३० प्रतिशतभन्दा बढीले वृद्धि हुने लक्ष्य थियो । आयात बढ्ने र राजस्व संकलन बढ्ने विभागको अनुमान थियो । तर, सरकारले आयातमा गरेको कडाइ र कोरोना संक्रमणको महामारी तथा बन्दाबन्दीका कारण आयातमा निकै कमी आएपछि लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन ।

बरु हरेक वर्ष बढ्दै गएको राजस्व संकलन यस वर्ष भने घट्न पुग्यो । यसरी राजस्व संकलन अघिल्लो आवको तुलनामा घटेको पहिलो मानिन्छ । विभागका अनुसार अघिल्लो आवभन्दा गत आवमा रू. ५६ अर्बले राजस्व संकलन घटेर रू. २ खर्ब ९८ अर्बमा सीमित भएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा २ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँले वैदेशिक व्यापारमा कमी आएको छ । अघिल्लो आवमा नेपालमा रू. १४ खर्ब ९८ अर्बको सामान आयात भएकोमा गतवर्ष घटेर रू. ११ खर्ब ९६ अर्बमा सीमित भएको छ । तथ्यांकअनुसार आयात १५ दशमलव ६३ र निर्यात शून्य दशमलव ९८ प्रतिशतले घटेको छ ।

विभागले कोरोना संक्रमण र यसलाई रोक्न गरिएको बन्दाबन्दीका कारण राजस्व घटेको बताएको छ । ‘बन्दाबन्दीपछि आयातमा आएको कमीको प्रभाव राजस्व संकलनमा प¥यो,’ विभागका महानिर्देशक सुमन दाहालले बताए । उनका अनुसार चैतपछि मात्र ४४ प्रतिशतले वैदेशिक व्यापार घटेको छ ।

फागुनको तुलनामा असारसम्म आइपुग्दा आयात १० प्रतिशतमा झरेको थियो । बन्दाबन्दी खुकुलो भएपछि भने साबिकको ८० प्रतिशत बराबरीमा आयात भइरहेको उनले बताए । असारपछि राजस्व संकलन बढेकाले कोरोनाको संक्रमण सकिएपछि अवस्था सामान्य हुने उनको भनाइ छ ।

गत आर्थिक वर्षको फागुनमा निर्यातसँगै आयात पनि वृद्धि भएको थियो । तर, विभागको तथ्यांकअनुसार फागुनपछि आयात र निर्यातमा सामान्य कमी आए पनि चैतपछि भने ठूलो कमी आएको देखिन्छ ।

यस अवधिमा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ । गत आर्थिक वर्षमा करीब रू. १ खर्ब १५ अर्बको डिजेल÷पेट्रोल आयात भयो । यस्तै रू. ६६ अर्बको फलाम, रू. ३ अर्बको एलपी ग्यास र रू. २३ अर्बको तयारी पोशाक आयात भएको छ ।

यस अवधिमा नेपालबाट सबैभन्दा बढी रू. १८ अर्बको पाम तेल निर्यात भएको छ । नेपालका व्यवसायीले तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका छन् । २०२० जनवरीदेखि भारतले पाम आयलको आयात रोके पनि फागुन पहिलो साताबाट आयात खुला गरेको थियो । यस्तै यस अवधिमा रू. १२ अर्बको भटमासको तेल, रू. ७ अर्बको धागो, रू. ६ अर्बको ऊनी÷गलैंचाबाट बनेका सामान निर्यात भएको देखिन्छ ।

वैदेशिक व्यापारमा सुधार आए पनि राजस्व संकलन र औद्योगिक कच्चा पदार्थको आयात घट्नु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको अर्थविद्हरू बताउँछन् ।

यस वर्ष पेट्रोलियम पदार्थको आयात र मूल्य घटेको र उद्योगका लागि आवश्यक कच्चा पदार्थ र अन्य सामानको पनि आयात घटेकाले राजस्व संकलन घट्नु सामान्य भएको उनीहरू बताउँछन् । ‘राजस्व संकलनको क्षमता वृद्धिका लागि सरकारले काम गर्नुपर्छ,’ अर्थविद् डा. शंकर अधिकारीले बताए । अत्यावश्यक र औद्योगिक कच्चा पदार्थको आयात वृद्धिका लागि सरकारले काम गर्नुपर्ने उनले बताए ।

Back to top