×

वीरगञ्ज १३ श्रावन । कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका भारतीय व्यापारीको शव गएको मध्यराति गाडिएको छ । मृतक भारतीय नागरिक सहित पाँच जना संक्रमितको शव व्यवस्थापन छुट्टा छुट्टै तीन ठाउँमा गरिएको छ ।

स्थानीयको विरोधकै कारण कोरोना विशेष अस्पतालमा साउन ११ गते बिहान मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापनमा समस्या भएको थियो ।

१२ गते मध्यरातमा तिलावे खोलाको किनारमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शवलाई खाल्डोमा गाडेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भएपनि स्थानीयले अवरोध गरेपछि प्रहरीले पनि सहयोग गर्दै आएको छ ।

स्थानीय प्रशासन र महानगरपालिकाले भनेको स्थानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि राती तिलावेमा संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । १२ गते वीरगञ्ज–३१ बेल्वाको जंगलमा शव व्यवस्थापनका लागि गएको नेपाली सेनाको टोलीलाई स्थानीयले बाटैमा रोकेका थिए ।

जेसिबी र ट्याक्टरसहित तोकिएको स्थानमा खाल्डो खन्न जान लागेको सेनाको टोलीलाई वीरगञ्ज–३२ टेढाका स्थानीयले बाटैमा रोकेका हुन् । गाउँको नजिक कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने अडान स्थानीयले राखेका थिए ।

नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । गाउँदेखि टाढा निकुञ्जको जंगलमा लगेर शव गाड्दा स्थानीयले आपत्ती जनाउन नहुने उहाँले बताउनुभयो ।

दुई दिनअघि स्थानीयले विरोध गर्दा अब फेरि त्यस ठाउँमा शव व्यवस्थापन नगर्ने मौखिक सहमति भएको स्थानीय जनप्रतिनिधिले बताए । स्थानीयवासी, राजनीतिक दलका स्थानीय नेता र जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै शव व्यवस्थापनको निर्णय लिनुपर्ने उहाँको सुझाव छ ।

स्थानीय प्रशासनले भने स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर शव लैजाँदा समेत अवरोध भएको जनाएको छ । १० गते पनि स्थानीयले भित्री जंगलमा शव गाड्दा आपत्ती नहुने बताए पनि हिजो बाटैमा रोकेको सेनाको भनाइ छ । नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।

Back to top